३ श्रावण २०८३, आईतवार

 

धौलागिरि अस्पतालमा आईसीयू कुर्दै ६ जना गम्भीर बिरामी, उपचार नपाएर ज्यानकै जोखिम

धौलागिरि अस्पतालको आईसीयू भरिएपछि दैनिकजसो थपिँदै गएका गम्भीर प्रकृतिका संक्रमितको उपचार मुस्किल हुन थालेको छ । कोही आईसीयूबाहिर छटपटाउँदै पालो पर्खेर बसेका छन् भने कोही लाखौं खर्चिएर हेलिकप्टरमा अन्य अस्पताल धाउन बाध्य छन् ।

आईसीयू र भेन्टिलेटर खाली नभएपछि बुधबार अक्सिजनको मात्रा निकै कम देखिएका बडिगाड गाउँपालिका–६ का ४० वर्षीय पुरुषलाई मनाङ एयरको हेलिकप्टरबाट पोखरा लगिएको छ ।

पोखरामा हेलिकप्टर नपाएपछि परिवारले ४ लाख ३० हजार तिरेर काठमाडौंबाट झिकाएको हो ।

आईसीयू कुरेका विरामीको ज्यान जोखिममा

अहिले धौलागिरि अस्पतालमा गम्भीर प्रकृतिका संक्रमितको संख्या ३३ पुगेको छ । आइसोलेसनमा बेड नपुगेर ८ जनालाई इमर्जेन्सी वार्डमा राखिएको छ । तीमध्ये ६ जना तत्काल आईसीयूमा राख्नुपर्ने अवस्थाका रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा जम्मा ३ आईसीयू बेड र तिनलाई सपोर्ट गर्न तीनवटा भेन्टिलेटर मात्र छन् ।यस्तोमा कडा लक्षण देखिएका बिरामीहरूलाई कहाँ लैजाने भन्ने तनाब उनीहरूका आफन्तमा देखिन्छ ।

पोखरा पुर्याउनै सकस, हेलिकप्टरको भाडा पनि महँगो

एम्बुलेन्सबाट पोखराका अस्पतालसम्म पु¥याउन ३ घण्टा लाग्छ । हेलिकप्टरको भाडा पनि महँगो छ ।

बिहीबार एकै दिन धौलागिरिको आईसीयूमा रहेका चार संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २० जना पुगेको छ । दैनिक ५० जनाका दरले संक्रमित थपिँदै छन् ।

जिल्लामा अहिले ७ सय १८ जना संक्रमित भइसकेका छन् ।होम आइसोलेसनमा रहेका धेरै बिरामीमा कडा खालको लक्षण देखिएको जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

इमरजेन्सी वार्डमा संक्रमित र अन्य बिरामीसँगै

अस्पतालको आइसोलेसन वार्ड भरिएपछि संक्रमितहरूलाई इमर्जेन्सी वार्डमै राखिएको छ । उनीहरूका लागि वैकल्पिक व्यवस्था नगरिँदा इमर्जेन्सीमै रहेका अन्य प्रकारका बिरामी पनि कोरोनाको जोखिममा परेका छन् ।

बिरामी मात्र होइन, इमर्जेन्सीमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र कुरुवाहरू पनि असुरक्षित बनेका छन् ।यस्तो अवस्था निम्तिँदा पनि अस्पताल प्रशासनले वैकल्पिक व्यवस्था गर्न तदारुकता नदेखाएको स्थानीयको गुनासो छ ।

छैनन् सूचना अधिकारी

धौलागिरि अस्पतालमा सूचना अधिकारी नहुँदा सञ्चारकर्मी र सर्वसाधारणलाई कोरोनाका बेला सूचना पाउन समेत मुस्किल परेको छ । पहिलेका सूचना अधिकारी तीर्थ गौतम सरुवा भएर पोखरा गएपछि अस्पताल प्रशासनले कसैलाई उक्त जिम्मेवारी दिएको छैन । अस्पताल साढे दुर्ई महिनादेखि सूचना अधिकारीविहीन छ ।

याे पनि पढ्नुहाेस् :

संक्रमितहरू घरमा छटपटाइरहँदा स्टोरमै थन्किए धौलागिरि अस्पतालका सय बेड

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung