३ श्रावण २०८३, आईतवार

 

बागलुङमा बढ्दै गम्भीर संक्रमित : धौलागिरि अस्पतालका बेड भरिए कहाँ लैजाने ?

कोरोनाको दोस्रो लहर भित्रिएको एक महिना नाघ्दा पनि यसविरुद्ध लड्न जिल्लाका निकायहरूले कुनै पहल थालेका छैनन् ।पालिकाहरूले कुनै भरपर्दो तयारी गरेका छन् न त जिल्ला प्रशासनले तदारूकता देखाएको छ ।

संक्रमित बढे के गर्ने ? कुनै तयारी छैन् 

उदासीनता यतिसम्म बढेको छ कि छिमेकी मुलुक भारत र देशकै विभिन्न जिल्लामा कोरोनाको दोस्रो भेरियन्ट डढेलोझैं फैलँदा यहाँका स्वास्थ्यसंस्थाले बेडसम्म थपेका छैनन् ।

ग्रामीण स्वास्थ्य संस्थाको त के कुरा, जिल्लाको प्रमुख अस्पताल धौलागिरि अस्पतालकै अवस्था दुरुह छ ।धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बी पोखरेलका अनुसार सक्रिय संक्रमित बढे के गर्ने भन्नेबारे जिल्ला कोभिड संकट व्यवस्थापन समिति, स्थानीय पालिकाहरू र स्वास्थ्य संस्था गम्भीर देखिँदैनन् ।

दैलोमै संक्रमणले च्याप्दा ५० बेडको व्यवस्था कहिले हुन्छ ?

मुखैमा आएको कोरोना रोकथाम, परीक्षण र नियन्त्रणको काम प्रभावकारी ढंगले अगाडि बढाउन समन्वय, सहकार्य, व्यवस्थापनका काम भएका छैनन् । ‘यसले गर्दा धेरै सक्रिय संकमितहरू जोखिममा छन्,’ पोखरेलले नयाँ विश्वसँग भने ।

कोरानाको बढ्दो लहरविरुद्ध जुध्न पालिकाहरूले पनि ठोस तयारी गरेका छैन । प्राय जनप्रतिनिधि अलमलमा देखिन्छन् । ‘यसका लागि आज बैठक बस्दै छौं, धौलागिरि अस्पतालमा कोरोनाको उपचारका लागि छुट्ट्याइएका २५ बेडलाई ५० बेडसम्म बढाउन, पूर्वाधार, स्वास्थ्यकर्मी र चिकित्सक व्यवस्थापनका लागि आर्थिक जिम्मेवारीका साथ सुविधा उपलब्ध गराउन प्रदेशका मुख्यमन्त्रीलाई अनुरोध गरेका छौं,’ बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भने ।

दैलोमै संक्रमणले च्याप्दा ५० बेडको व्यवस्था कहिले हुन्छ केहि टुग्गो छैन् । त्यसको लागि धेरै समय बितेपछि आज मात्र अस्पतालको बैठक बसेको छ ।

नगर स्वास्थ्य शाखामा कोरोनाको बढ्दो आँकडाको तुलनामा स्वास्थ्यकर्मीहरुको संख्या अत्यन्तै न्युन

उनका अनुसार रातमाटामा रहेको भवनमा ३५ बेडको आइसोलेसन बनाउने काम अगाडि बढाइँदै छ ।अहिले बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा कोरोना रोकथाम र नियन्त्रणका लागि जम्मा पाँच जना खटाइएका छन् ।तीमध्ये दुई जना काजमा ल्याइएका हुन् । कोरोनाको बढ्दो आँकडाको तुलनामा यो संख्या अत्यन्तै कम हो ।

तर स्वास्थ्य शाखामा जनशक्ति थप्न कुनै गृहकार्य देखिँदैन । तीमध्ये एक जना चालक रहेको र उनी पनि संक्रमित भएर होम आइसोलेसनमा रहेको नगर स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले बताए ।

कोरोनाले छपक्कै छोपिसक्दा बल्ल आएर नगरपालिकाको भवनमा आइसोलेसन बनाउन नगरका स्वास्थ्य संस्थाहरूमा रहेका स्वास्थ्यकर्मीलाई झिकाउने तयारी थालिएको छ ।

तेजुमायालाई समयमै अस्पताल पु¥याउने संयन्त्र भएको भए ज्यान जोगिन सक्थ्यो

पछिल्ला दिन बागलुङ नगरमा मात्र दैनिक २० जनाका दरले कोरोना संक्रमित थपिइरहेका छन् । सोमबार मात्र ताराखोला गाउँपालिका–३ की ३० वर्षीया तेजुमाया भण्डारी परियारले ज्यानै गुमाइन् । कोरोना संक्रमणपछि उनको दुवै फोक्सोले काम गर्न छोडको अस्पतालले जनाएको छ ।

सातादिनसम्म पसलबाट आफूखुसी औषधि किनेर खाएकी उनी रोगले च्यापेपछि १८ गते मात्र अस्पताल पुगेकी थिइन् । स्थानीय तहमा यस्ता बिरामीलाई समयमै अस्पताल पु¥याउने संयन्त्र हुन्थ्यो त उनको ज्यान जोगिन पनि सक्थ्यो । पालिका स्तरमा संक्रमितप्रति गम्भीर्य र प्रभावकारी व्यवस्थापनको अभाव दर्साउने यो एउटा प्रतिनिधि घटना हो ।

दैनिक ३० जनाका दरले कोरोना संक्रमित थपिदै, मृतकको संख्याको ५ जना पुग्यो, मानवीय क्षति बढ्दै

पछिल्ला दिन बागलुङ नगरमा मात्र दैनिक ३० जनाका दरले कोरोना संक्रमित थपिइरहेका छन् ।अहिलेसम्म कोरोनाकै कारण जिल्लामा १३ जनाले ज्यान गुमाइसकेका छन् । गत वैशाख १५ गते एक महिलाको तथा १७ र १८ गते दुई पुरुषको,२१ गते एक महिलाको र आज एक पुरुषको मृत्यु भएको छ । दोश्रो लहरपछि बागलुङ जिल्लामा ५ जनाले ज्यान गुमाएका छन् ।जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४२ पुगेको छ ।

तीमध्ये २२ जना अस्पताल र बाँकी होम आइसोलेसनमा छन् ।बागलुङ नगरपालिकामा १ सय १९ जना संक्रमित पुगेका छन् ।बागलुङ बजारमा मात्रै संक्रमित ७९ जना पुगेका छन् ।बागलुङ नगरपालिका वडा नं १ मा १५ जना,वडा नं २ मा ४० जना,वडा नं ३ मा ८ जना र वडा नं ४ मा १६ जना कोराृेना संक्रमित रहेका छन् ।

पूर्वाधार र थप जनशक्ति नहुँदा उपचारमा समस्या 

ताराखोला गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा २२ संक्रमित छन् । बुधबार मात्रै जिल्लामा ३७ जना नयाँ संक्रमित देखा परेका छन् ।

यसअघि बागलुङ बजारका विभिन्न ३ ठाउँबाट व्यक्तिको स्वाब संकलन गर्ने गरिएकामा अहिले जनशक्ति अभाव भएकाले यो सेवा धौलागिरि अस्पतालमा मात्रै सीमित छ ।

धौलागिरि अस्पतालमा कोरोनाका बिरामीका लागि जम्मा २५ बेड छुट्ट्याइएको छ । जसमा आईसीयू एक, भेन्टिलेटर तीनवटा र अक्सिजन सिलिन्डर ५० वटा छन् । यही रफ्तारमा बिरामीको चाप बढे तिनले नधान्ने निश्चित छ । अहिले स्वाब परीक्षण गर्ने किट न्यून रहेको अस्पतालले जनाएको छ ।

‘अहिल्यै २२ जना बिरामी भर्ना भएका छन्, उनीहरूलाई बढी अक्सिजन चाहिन्छ तर अक्सिजन प्लान्टकै मर्मत भएको छैन, स्वास्थ्यकर्मी र चिकित्सकको पनि अभाव छ,’ मेसु पोखरेलले भने, ‘थप बिरामी आए शय्या छैन, पूर्वाधार र थप जनशक्ति नहुँदा सक्रिय संक्रमित बढेमा उनीहरूको जीवनरक्षा कसरी गर्ने भन्ने जोखिम छ ।’

मेसु पोखरेल आफ्नो नेतृत्वमा १५ जनाले कोरोना संक्रमितको उपचार गरिरहेको बताउँछन् । तिनमा दुई जना सहयोगी, १० जना स्टाफ नर्स र २ जना विशेषज्ञ चिकित्सक छन् । गत वर्ष २० जनासम्म चिकित्सकले कोरोनाका बिरामीको उपचारमा खटाइएको थियो ।

पहिलो चरणको संक्रमण फैलिँदा पर्याप्त जनशक्ति भए पनि दोस्रो लहरमा जनशक्तिको अभाव रहेको पोखरेलको भनाइ छ ।

नागरिकको ज्यान गए यसको क्षतिपूर्ति हुन सक्दैन : उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठ

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठ जोखिममा रहेका बागलुङबासीलाई जोगाउने तयारी निकै कमजोर रहेको बताउँछन् । पैसा खर्च गर्छुभन्दा पनि तत्काल सेवा पाउने अवस्था नरहेको उनको भनाइ छ ।

‘नागरिकको जीवन कठिन अवस्थामा छ । समयमै उपचार नपाएर धैरेले ज्यान गुमाएका छन्,’ श्रेष्ठले भने, ‘त्यसैले सबै जिम्मेवार भएर तत्काल अस्पताल र स्वास्थ्य चौकीहरूमा पर्याप्त शय्या, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी र चिकित्सकको व्यवस्था गर्नुपर्छ । अनाहकमा कसैको ज्यान गए यसको क्षतिपूर्ति हुन सक्दैन ।’

‘दिगो रणनीति र पूर्व तयारी छैन् । गत वर्षको कोरोनाबाट हामीले पाठ सिकेर जसरी अहिलेको कोरोनाको सामान गर्ने संयन्त्र बनाउनु पर्ने हो त्यस तर्फ कसैको ध्यान जान सकेन ।त्यसको अचानोमा आम नागरिकको ज्यान गम्भीर जोखिममा परेको छ भने दैनिक मानवीय क्षति भएको छ ।’

कोरोना रोकथामको दिगो रणनीति छैन्,पालिकाहरुको तयारी पनि शुन्य

सरकारले कोरोना नियन्त्रण ठूलठूला घोषणा गर्यो गत वर्ष तर त्यसलाई कार्यान्वयन गर्ने तहमा कुनै दिगो कार्याक्रम नल्याएको अधिवक्ता तथा नागरिक समाजका सदस्य राम शर्माले बताए ।

बैज्ञानिक र विशेषज्ञहरुले कोरोना नयाँ रुपमा आउने आकलन गरी सकेका थिए तर हाम्रो पाकिलाका जनप्रतिनिधिहरुको तयारी शुन्य जस्तो देखिन्थ्यो ।

दोश्रो लहर घरको दैलोमै आउँदा पनि जिम्मेवार तहमा बसेका सरोकारवालाहरुको जवाफदेहिता, पूर्वतयारी र व्यवस्थापन कमजोर र फितलो भएको अधिवक्ता शर्माले भने ।

थप कति जना नागरिकको मृत्यृु भएमा अस्प्पतालमा शय्या थपिन्छ कस्ले जवाफ दिन्छ – अध्यक्ष राना

अस्पतालमा कोरोनाको संक्रिय संक्रमितहरुले भरिन थालेको छ । मृतकको संख्या पनि बढेको छ । यस्तो आपतकालिन समयमा हामीले तत्काल अस्पतालमा थप क्षमता वृद्धि गरेनौ भने अवस्था भयावह आयो भने कस्ले जवाफ दिन्छ ? हामीसँग प्रयोगमा नआएको सय वटा शय्या छन् ।

हस्तान्तरण हुन बाँकी भवनलाई समेत यस्तो बेलामा प्रयोगमा ल्याउन सकिएको छैन् । संकट हाम्रो अगाडि यसरी उभिदा पनि हामीले कुनै व्यवस्था गर्न सकेका छैनौ,हामीले कस्लाई भन्ने ?

याे पनि पढ्नुहाेस् :

नागरिक समाज बागलुङको अपिल – ‘कोरोनाबाट नागरिकको ज्यान जोगाउन गम्भीर बन’

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट सर्भिसिङ नहुँदा अक्सिजन खेर गयो, मर्मत गर्ने रकम छैन

निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्दा कोरोना रोकथाम प्रभावकारी नहुने

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung