धौलागिरि अटोमोबाइल व्यवसायी संघ, बागलुङले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग राखी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष शिव शंकर शाहले अटोमोबाइल व्यवसायी, मेकानिक र कर्मचारीहरूलाई सुरक्षापूर्वक काम गर्ने वातावरण मिलाइदिन प्रजिअ शिवकुमार कार्कीसमक्ष आग्रह गरेका हुन् ।
संक्रमित बोक्ने एम्बुलेन्स, शववाहन, सरकारी र निजी सवारीसाधन मर्मत गर्दा आफूहरू प्रत्यक्ष जोखिममा परेको संघले जनाएको छ ।
संघका अनुसार सवारीसाधन मर्मत गर्ने ग्यारेजमा मात्र ३ सय ५० जना मेकानिक कार्यरत छन् भने १ सय ५० जना कर्मचारी र ५१ जना सञ्चालक छन् ।
प्रजिअ कार्कीले बागलुङमा कोरोना भाइसविरुद्धको खोप लगाउनुपर्ने प्राथमिकतामा अटोमोबाइल विक्रेता पनि रहेको भन्दै आफ्ना तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
संघका सचिव राजु शर्माले कोरोना कहरका बेला जोखिम मोलेर काम गरिरहेका अटोमोबाइलका विक्रेतालाई कोरोना खोपको प्राथमिकतामा राख्नुपर्ने बताए ।
बागलुङमा सवारीसाधन विक्री गर्ने, गाडी र ग्यारेज गरी ५१ वटा पसल छन् । ‘विकसित राष्ट्रहरूले अटोमाबाइल क्षेत्र र त्यसमा निर्भर सञ्चालक र श्रमिकहरूलाई उच्च प्राथमिकतामा राखेका छन् ।
अर्थतन्त्र चलायमान् बनाउन र कोरोना रोकथाम गर्न अटोमोबाइल क्षेत्रको महत्त्व ठूलो भएकाले यस क्षेत्रलाई जोगाउनुपर्छ,’ अध्यक्ष शिव शंकर शाहले नयाँ विश्वसँग भने ।







































































































































































































