२७ बैशाख २०८१, बिहीबार

 

चन्द्रागिरि र गोकर्ण फरेष्टले पाए ‘लक्जरी रिसोर्ट’ को मान्यता

काठमाडौंको चन्द्रागिरिमा रहेको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिर्सार्टको मान्यता पाएका छन् । बनेपास्थित आगन्तुक रिसोर्टले भने ‘डिलक्स’ स्तरको मान्यता पाएको छ ।

यी तीन बाहेक देशभरका अन्य रिसोर्टको स्तर भने ‘साधारण’ हुने छ । पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारास्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार ‘साधारण’ स्तरमा रहेका रिसोर्टको संख्या भने ९९ वटा रहेको छ । यो स्तरमा पर्यटक स्तरका अधिकांश रिसोर्टहरु समेटिएका छन् । काठमाडौं, नगरकोट, धुलिखेल, पोखरा र सौराहाका स्तरीय रिसोर्टहरु यो सूचिमा अटाएका छन् ।

विभागले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलहरुको वर्गीकरणको मापदण्डका आधारमा रिसोर्ट तथा होटेलहरुको वर्गिकरण गरेको हो । पछिल्लो वर्गिकरण अनुसार नेपालमा पाँचतारे होटेलको संख्या १६ पुगेको छ । पर्यटन विभागका अनुसार पछिल्लो पटक भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिले झापाको धुलाबारीमा बनाएको होटेल मेची क्राउनले पाँचतारे मान्यता पाएको हो ।

विभागले १९ फागुन २०७७ मा यो होटेललाई पाँचतारे मान्यताको स्तर वर्गिकरण गरेको थियो । कुल १ सय कोठामा १८५ सैयासहित यो होटेल संचालनमा आएको हो ।

पछिल्लो समय उपत्यकाभन्दा बाहिर पाँचतारे होटेले खुल्ने क्रम तिब्र भएको छ । १६ वटा पाँचतारेमध्ये १० वटा काठमाडौं उपत्यका भित्र रहेका छन् । ६ वटा पाँचतारे भने मोफसलमा खुलेका छन् । देशभर रहेका पाँचतारे होटेलमा कुल २६४१ कोठा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्