३ श्रावण २०८३, आईतवार

 

सात तस्बिरमा हेर्नुहाेस् बागलुङकाे घण्टाकर्ण पर्व

बागलुङका नेवार समुदायले शुक्रवार घण्टाकर्ण पर्व मनाएका छन् । नेवा ल्याम्ह पुच बागलुङको आयोजनामा दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो ।

कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धान्नकै लागि भएपनि पर्व मनाएको नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले नयाँ विश्वलाई बताए ।

कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शंखधर सहकारीका सचिव युक्तजंग राजभण्डारीले बताए ।

पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । यसैत परम्परा जोगाउनै धौंधौं परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको उनको भनाइ छ ।

घण्टाकर्ण नाम गरेको नरभक्षी राक्षसको स्वरूप बनाई दिनभर नारायण चोकमा उभ्याइएको थियो । मकैको डाँठ, पराल आदि प्रयोग गरेर राक्षसको आकृति झल्कने तीनखुट्टे बुख्याँचा बनाउने गरिएको छ ।

‘नेवार समुदायका घरघरबाट कपडाका पुतली बनाएर घण्टाकर्णलाई लगाइदिने गरिन्छ’, उनले भने, ‘ग्रहदशा कटोस्, लुतो हराओस् भनेर चामल, नुन, मास, बेसार, सिक्का पैसा पनि चढाउने चलन छ ।’

दिनभर नारायणचोकमा राखेपछि साँझपख नेवारी बाजागाजासहित बजार घुमाउँदै हनुमान पौवानजिक लगेर घण्टाकर्णलाई जलाइएको थियो । नरभक्षी राक्षस घण्टाकर्ण मारिएको दिनको सम्झनामा परापूर्व कालदेखि नै उक्त पर्वको थिति बसेको नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए ।

बर्सेनि साउन कृष्ण चर्तुदशीका दिन घण्टाकर्ण पर्व मनाइन्छ । नेवारी संस्कृतिमा घण्टाकर्ण पर्वपछि लाखे नाच शुरु हुन्छ ।

लाखे नाच गठेमङ्गलमा शुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्णलाई मारेपछि पति वियोगमा विह्वल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती छ ।

झण्डै २ सय ३५ वर्षअघि भक्तपुर, बनेपालगायतका ठाउँबाट बागलुङ बसाइँसराइ गरी आएका नेवारहरुले परम्परागत जात्रा र पर्वहरु भित्र्याएको नेपाल भाषा मंकाःखलः बागलुङका पूर्वअध्यष काजी गाउँले श्रेष्ठले बताए ।

पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung