बागलुङका बडिगाड गाउँपालिका–९ बल्घासमा ठाडो खोलामा आएको बाढीले २७ घरमा क्षति पुर्याएको छ । गयराति भाते खोलामा भलसँगैको बाढीले २७ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानी अवरुद्ध भएको छ ।
ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षति भएको स्थानीयले बताएका छन् । स्थानीय टोपबहादुर पुनको पसलमा भल पस्दा ५ लाख बराबरको क्षति भएको छ । पूर्णबहादुर घर्तीको खाजा पसल, हिराबहादुर केसी, कुलबहादुर केसी, जीतबहादुर क्षेत्री, सुर्यबहादुर केसी, मिठबहादुर केसी लगायतको खेतमा लगाइएको धान भलसँगैको बाढीले नष्ट पारेको छ ।
यस्तै, स्थानीयले प्रयोग गर्दै आइरहको बल्घास–मैदाले खानेपानी आयोजनामा पनि क्षति पुगेको वडाध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।
सो स्थानमा भएको क्षतिपछि गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा क्षेतिग्रस्त क्षेत्रमा पुगेका छन् । अबरुद्ध सडक गाउँपालिकाको डोजर सञ्चालन गरी तत्काल सफा गर्ने, खानेपनीको मर्मत गर्ने निर्देशन दिएको गाउँपालिका अध्यक्ष पाइजाले बताए ।
प्राकृतिक विपत्तिमा परेका पीडित परिवारको राहतका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने पाइजाको भनाई छ ।



















































































































































































































