पोर्चुगलले वित्तीय अपराधका फरार अभियुक्त केदार ढुंगानालाई पक्राउ गरी हालै नेपाललाई बुझाएको छ । दुई देशबीच सुपुर्दगी सन्धि नभए पनि पोर्चुगलले रेडकर्नर नोटिसकै आधारमा ढुंगानालाई सुपुर्दगी गरेको हो ।
यो उपलब्धिपछि केन्द्रीय अनुसन्धान ब्युरो र इन्टरपोल शाखाको ध्यान अब अमेरिकातिर केन्द्रित भएको छ जहाँ नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेका पवनकुमार कार्की छन् ।
फरार अपराधीको सूचीमा रहेका कार्कीलाई पनि ढुंगानालाई जसरी नै नेपाल ल्याउन सकिनेमा प्रहरी अधिकारीहरू आशावादी देखिएका छन् ।सीआईबीका डीआईजी धीरजप्रताप सिंह पोर्चुगलबाट ढुंगानालाई पक्राउ गरी नेपाल ल्याउन सक्नु संगठनको सफलता भएको बताउँछन् ।
‘पोर्चुगलको सफलताबाट हामी केही उत्साहित र आशावादी छौँ, अब अमेरिकामा रहेका कार्कीलाई नेपाल ल्याउनेबारे थप मेहनत सुरु गर्छौं,’ उनले भने ।
२०६६ सालतिर तत्कालीन क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडका प्रबन्ध निर्देशक थिए पवनकुमार कार्की । उनले विभिन्न २० वटा कम्पनी खडा गरेर तिनका नाममा ऋण लिई अनियमितता गरेका थिए ।
२०६८ सालमा उनीविरुद्ध ५७ वटा मुद्दा दायर भएका थिए । १०२ जनालाई प्रतिवादी बनाइएको मुद्दामा ४६ जनाले सफाइ पाएका थिए भने ५६ जनाविरुद्ध कैद सजाय तथा जरिवानाको फैसला भएको थियो ।
ती मुद्दामा २०७१ वैशाखमा तत्कालीन पुनरावेदन अदालत पाटनले ५६ जनालाई दोषी ठहर गर्दै कार्कीका नाममा ४९ करोड ५९ लाख ७० हजार १४१ रुपैयाँ जरिवाना तोकेको थियो ।
तर, यता खोजी हुनै लाग्दा कार्की अमेरिका भागिसकेका थिए । कार्की कुन भिसामा कसरी अमेरिका पुगे भन्ने अहिलेसम्म खुलेको छैन । यद्यपि उनी डीभी परेर अमेरिका पुगेको प्रहरीको बुझाइ छ ।
प्रहरीका अनुसार कार्कीले नेपालबाट बैंक ठगी गरेर लगेको पैसाले टेक्सासमा ‘नमस्ते इन्डिया’ नामको ग्रोसरी पसल सञ्चालन गरेका छन् । अमेरिकाका विभिन्न स्थानमा उनले व्यापार गरिरहेका छन् र हाल अमेरिकाकै नागरिकसमेत बनिसकेका छन् ।
कार्कीमाथि डिफ्युजन नोटिस र रेड कर्नर नोटिससमेत जारी भइसकेको छ । अमेरिकासँग बारम्बार कुरा भइरहे पनि अमेरिकाले भने कार्की आफ्नो नागरिक रहेको भन्दै दिन नमिल्ने बताइरहेको प्रहरीको भनाइ छ ।













































































































































































































