१५ कार्तिक २०८३, शनिबार

 

द्वन्द्व पीडितलाई न्याय दिन सरकार उदासिन बनेको गुनासो

- बेपत्ता आफन्त खोजिदिन भन्दै दिएको जाहेरी दर्ता भएन

सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सार्वजनिक नगरेको भन्दै बागलुङका द्धन्द्ध पीडितले गुनासो गरेका छन् ।

३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा बागलुङमा आयोजित कार्यक्रमका वक्ताले राज्य गम्भीर नबन्दा आफूहरु लामो समयसम्म मानसिक तनाबमा परेको गुनासो गरेका हुन ।

लामो सङ्घर्षपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेकाले त्यसले सत्य तथ्य पत्ता लगाउनेमा आफू आशावादी भए पनि आयोगले पनि काम नगर्दा दोषीलाई कारबाही हुन्छ कि हुँदैन भन्नेमा शंका उत्पन्न हुन थालेको बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहरु आउने आशामा पर्खिरहेको भन्दै यतिका वर्ष बिति सक्दा पनि राज्य जिम्मेवार नबनेको आरोप लगाएका छन् ।

कार्यक्रममा न्यायका लागि द्वन्द्वपीडित समाज नेपालका केन्द्रीय उपाध्यक्ष बद्रीबहादुर केसिले २०७१ माघ ३२ गते गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आजसम्म पीडितका उजुरी लिने बाहेक अरु कुनै काम गर्न नसकेको बताए ।

सात बर्षसम्म ३२ करोड भन्दाबढि राज्यको ढुकुटी खर्च भइरहँदा पनि पीडितले कुनैपनि न्याय नपाएको गुनासो गरे । वकालत मञ्च धौलागिरि संयोजक राम शर्माले जुन लक्ष्यका लागि संघर्ष गरिएको हो त्यो मुद्दा सफल भएको भनिए पनि दुई दशक बढि बितिसक्दा पनि पीडितले न्याय नपाउनु राज्यको निरिहपनको पराकाष्ट भएको बताए ।

राज्यले पीडितलाई न्याय दिन भनि स्थापना गरिएको बेपत्ता छानबिन आयोगमा वास्तविक पीडित परिवारको प्रतिनिधित्व नभइ राजनैतिक भाग भण्डा रहनुले सातबर्ष पूरा भइ सक्दा पनि आयोगले काम गर्न नसकेको बताए ।

नेपाल बार एसोसिएसन बागलुङका अध्यक्ष हरि प्रसाद शर्माले बाँच्न पाउने अधिकार सबै नागरिकको हक भए पनि राज्य नागरिकको सुरक्षामा लाचारी बनिरहेको टिप्पणी गरे ।

नागरिक समाजका अगुवा काजि गाउँले श्रेष्ठले व्यक्तिको स्वतन्त्रताको सवालमा राजनैतिक मुद्दा सफल पार्ने निहुँमा बेपत्ता पारिएका नागरिक र परिवारले न्याय नपाउनु दुखद भएको बताए ।

नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले देशमा द्वन्द रोकिएर विस्तृत शान्ति सम्झौता भएको पनि १५ वर्ष पुगिसकेपनि वेपत्ता पारिएका व्याक्तिहरु र पीडित परिवारहरुले कुनैपनि न्याय नपाउनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताए ।

२०५२ देखि ६२ सम्मको शसस्त्र द्वन्दको समयमा तत्कालिन विद्रोही पक्ष र राज्य पक्षबाट बागलुङमा २५ जना बेपत्ता भएकोमा १ जना महिला १० वर्ष पछि फेला परेकी थिइन् ।

कार्यक्रम बेपत्ता परिवार समाज बागलुङका अध्यक्ष जशोदा शर्माको अध्यक्षता र न्यायको लागि द्वन्द पीडित समाज बागलुङका अध्यक्ष हरि सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

बेपत्ता आफन्त खोजिदिन भन्दै दिएको जाहेरी दर्ता भएन

बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका सन्र्दभमा बागलुङका दुई व्यक्तिका परिवारले बेपत्ता बनाउने कार्यमा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी पेस गरेका छन् ।

जैमिनी नगरपालिका–१० राङखानीका विमल केसीले आफ्नो छोरा सेनाले बेपत्ता पारेकोमा अहिलेसम्म खोजी नभएको भन्दै सेनाका अधिकारीविरुद्ध जिल्ला प्रहरीमा आइतबार जाहेरी दिएका हुन ।

त्यस्तै निसीखोला–४ का खुमलाल शर्माले पनि पत्नी सुशिलाको खोजी गरिदिन आइतवारै जाहेरी दिएका छन । केसीका १३ वर्षीय छोरा गणेशलाइ सेनाले बेपत्ता बनाएको थियो ।

२०५८ सालमा १३ वर्षका गणेशलाई सेनाले विद्रोहीको नाममा पक्राउ गरेपछि बेपत्ता बनाएको केसीको आरोप छ । नाबालक भएकोले राजनीतिमा लाग्ने वा विद्रोही हुने समय नै नभएको अवस्थामा आफन्तको घरमा गएको मौका पारेर बलपूर्वक नियन्त्रणमा लिएको जाहेरीमा उल्लेख छ ।

केसीले तत्कालीन नेपाली सेनाको कालीदल गुल्मका गुल्मपति चन्द्रबहादुर पुनविरुद्ध समेत जाहेरी दिएका हुन । सुशीलालाई तत्कालीन विद्रोही माओवादीले २०६२ मंसिर १३ गते घरबाटै अपहरण गरी बेपत्ता बनाएका थिए ।

पार्टीको बैठकमा भन्दै लगेका माओवादी कार्यकर्ता तथा तत्कालीन जिल्ला नेता टेकबहादुर केसीविरुद्ध उनले प्रहरीमा जाहेरी दिएको बताए । पत्नी बेपत्ता भएपछि खोजी भए पनि अहिलेसम्म मरेबाँचेको थाहा नपाएको उनले गुनासो गरे ।

बेपत्ताको सूचीमा समेत परेर पनि उनले राहतसमेत नपाएका हुन । नेपाल रेडक्रस सोसाइटीले दिएको १० हजार रुपैयाँ मात्रै राहत बुझेका उनले खोजी अभियान भने अझै रोकेका छैनन्।

दुवै जनाको जाहेरी बुझेका जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले गृहमन्त्रालयको राय बुझेर जाहेरी दर्ता गर्ने बताए । ‘देशभर यस्तै क्रियाकलापका मुद्दा पर्न सक्ने र परेकाहरूको के कसो भएको छ, सो बुझेर दर्ता गर्छु,’ उनले भने, ‘पीडितले न्याय पाउनुपर्छ ।’ अधिकारकर्मी अधिवक्ता राम शर्मा ,शैलु शर्मा सहितको टोलीले पीडितको जाहेरीमा सहयोग गरेका थिए । पक्राऊ तथा थुना, यातना तथा बलपूर्वक बेपत्ता सम्बन्धी कसुरमा जाहेरी दिए पनि प्रहरीले जाहेरी लिएको तर राजनीतिक मुद्धा भएकोले माथिल्लो तहले आज्ञा अनुसार अगाडि बढ्ने बताएको अधिवक्त शैलु शर्माले बताईन ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung