६ जेष्ठ २०८१, आईतवार

 

डेनमार्कको कोपनहेगनमा सार्वजनिक बस कुदाउँछिन् बागलुङकी सपना

बागलुङबाट विदेशमा गएर काम गर्नेहरूको सूची लामै छ । कोही रोजगारी, कोही अध्ययन त कोही आवासीय प्रयोजनले बिदेसिएका छन् । विदेशमा उनीहरू अध्ययन मात्र गर्दैनन्, विभिन्न सीप पनि हासिल गर्छ ।

त्यस्तै एउटा सीपले बागलुङकी एक चेली यति बेला चर्चामा छिन् । उनको नाम हो, सपना खड्का । अनि काम, बस चालक । त्यहाँको एक सम्मानित पेसा । डेनमार्कको राजधानी कोपनहेगनको मुख्य केन्द्र सेन्ट्रल स्टेसन हुँदै गुड्ने सार्वजनिक बस २५० ‘एस’ की चालक हुन् सपना ।

अर्को व्यस्त रूट नरेपोर्ट हुँदै चल्ने १४ नम्बर बस पनि उनैले चलाउँछिन् ।सपनाका अनुसार उनी डेनिस भाषा तथा प्राविधिक समस्यालाई चिर्दै खड्का सार्वजनिक सवारीको ड्राइभिङ सिटमा पुगेकी हुन्।

त्यहाँ सार्वजनिक सवारीलाई महत्त्वपूर्ण र भरपर्दो माध्यमका रूपमा हेरिन्छ । बस चालनलाई सुरक्षित र मर्यादित पेसा मानिन्छ । डेनमार्कमा करिब ५ हजार नेपाली छन् । तीमध्ये २१ जना बस चालक छन् । बस चलाउने नेपाली महिलाचाहिँ २९ वर्षीया सपना मात्रै हुन् ।

यसको थालनी भने गणेश ढकालले गरेका थिए, झन्डै १० वर्षअघि । उनी अहिले पनि यही पेसामा छन् ।सपना डेनमार्क आएको पाँच वर्ष भयो। श्रीमान् र दुई छोराछोरी साथमै छन् ।

सन् २०१९ मा ‘बी’ सवारी चालक अनुमतिपत्र लिएकी उनले बससम्बन्धी छुट्टै कोर्स गरेर लिखित र अभ्यासमा पास भएपछि सार्वजनिक बस चलाउने अनुमति पाएकी हुन्।

त्यसपछि पाँच दिन तालिम गरेर पूर्णकालीन रोजगारी पाइन्। ६ साता श्रम बजार शिक्षा एएमयू कक्षा लिएर उत्तीर्ण भएपछि उनी क्यूलिस कम्पनीमा आबद्ध भएकी छिन्।

डेनमार्कको सार्वजनिक बसको छाता संस्था मुभियाअन्तर्गत क्युलिस पर्छ। खड्काले यो कम्पनीमा आबद्ध भएर सातामा ४ दिन बस चलाइरहेकी छिन्।

‘अरूले गाह्रो हुन्छ भन्ने सुनेकी थिएँ, सोधखोज गरेर मेहनत गरेपछि पास भएँ र जागिर पनि पाएँ,’ उनले भनिन् ।उनका अनुसार कमाइ पनि राम्रै छ। उनी घण्टाको १६१ डेनिस क्रोनर पाउँछिन्।

‘पहिला २ वर्ष हाउसकिपिङ गरेँ, अलि गतिलो सीपयुक्त स्थायी कामको खोजीमा थिएँ, यता कोर्स गरेर पास भएपछि पाएँ,’ उनले भनिन्। बस चलाउने काम निश्चित भएकाले परिवारलाई पनि पर्याप्त समय दिन सकिरहेकी छिन् सपना अहिले ।

यस क्षेत्रमा लाग्न पति मोहन खड्काले उनलाई पूरा साथ–सहयोग गरेका छन्। ‘डेनिस भाषा सिक्न र सीपयुक्त काम गर्न श्रीमानले सधैं साथ–सहयोग गर्नुभयो अनि म सफल भएँ,’ उनले भनिन्।

पति मोहन छोटो समयमै सपनाले काम गरेर देखाएकोमा खुसी छन्। उनीहरूका ९ वर्षकी छोरी र ६ वर्षका छोरा छन् । सपनाले सार्वजनिक बस चलाउन इच्छुक अन्य महिलालाई डेनिस भाषा सिकेर यससम्बन्धी कोर्स लिन सुझाइन्।

‘यो सुरक्षित र राम्रो पेसा हो, इच्छा हुने दिदीबहिनीले मेहनत गरेर आउँदा राम्रो हुन्छ,’ उनले भनिन्, ‘महिला हुँ भनेर खुम्चिएर बस्न हुँदैन।’

तस्बिरः महेशकुमार खाती

प्रतिक्रिया दिनुहोस्