४ श्रावण २०८३, सोमबार

 

संखुवासभा सामूहिक हत्या प्रकरण : घरमा भेटियो सुनसहित नगद, दुबईबाट आइपुगे नरेश

संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको ४८ घण्टा पुगिसक्दासम्म हत्यारा पत्ता लागेको छैन । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै नेपाल प्रहरीको विभिन्न टोली अनुसन्धान गर्न घटनास्थलमा पुगेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली त्यहाँ पुगेको छ । प्रहरी टोलीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको छ ।

अझै हत्या कसले किन गर्‍यो भन्ने निचोडमा पुगिनसकेको प्रहरी अधिकारीहरू बताउँछन् । अनुसन्धान भइराखे पनि निचोडमा पुगिनसकेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीन राईको भनाइ छ ।

सुरूमा प्रहरीले आर्थिक कारणले हत्या भएको हुनसक्ने अनुमान गरेको थियो । कार्की परिवारले झापामा जग्गा किन्न लागेको थाहा पाएपछि प्रहरीले त्यसैअनुसार अनुसन्धान अघि बढायो । जग्गा किन्न लागेको हुँदा घरमा ठूलो रकम हुने र त्यही लुटपाट गर्न हत्या गरिएको हुन सक्ने आशंका थियो।

प्रहरीले तेजबहादुर कार्कीको घरबाट गरगहना तथा नगद सुरक्षित रूपमा फेला पारेको छ।

घटनास्थल पुगेका संघीय इकाइ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार कार्की परिवारको घरमा सुन र नगद फेला परेको छ। जसलाई कसैले चलाएको छैन।

‘घरबाट गरगहना भेटिएको छ। ठ्याक्कै कति छ भनेर हामीले जोखेका त छैनौं। नौगेडी, मुन्द्री, झुम्का, ढुंग्रीलगायत गहना भेटिएको छ,’ उनले भने, ‘पैसा पनि चार लाख बढी भेटिएको छ। लुटपाट घरमा भएको देखिन्न।’

मंगलबार मुचुल्का उठाउने तथा तालिमप्राप्त कुकुरलाई स्निफिङ (सुँघाउने) काम गरेपछि ६ वटै शवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको छ। शवहरू मध्यराति अस्पताल पुगेको प्रहरी उपरीक्षक नवीन राईले बताए।

तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति ७ बजेमात्रै घटनास्थल पुगेको थियो। सो टोली राति पुगेको हुँदा शवलाई प्रहरीले छोएको थिएन । भोलिपल्ट मंगलबार मात्रै स्निफिङ गराएर प्रहरीले शवको मुचुल्का उठाएको थियो।

राति पानी परेको हुँदा त्यो पनि प्रभावकारी हुन सकेन। अहिले प्रहरीले त्यहाँका मानिसहरूको बयान लिने काम गरिरहेको छ।

घटनापछि तेजबहादुरका छोरा नरेश दुबईबाट नेपाल फर्किएका छन्। उनी गएराति धरान आइपुगेको मृतकका आफन्तले बताए । विनोदका अनुसार पोष्टमार्टम सकिएपछि बुधबार नै उनीहरूको दाहसंस्कार गर्ने तयारी भइरहेको छ।

कार्की परिवारको आर्थिक हैसियत सामान्य थियो। उनीहरू ढुंगामाटोको घरमा बस्थे। जेठा छोरा रमेश अहिले मलेसियामा छन्। उनी शनिबारसम्म नेपाल आउने बताइएको छ ।

घरमा भएका ६ जनाको हत्या हुँदा ९० वर्षीय वृद्ध बौद्धमान जोगिएका थिए। बौद्धमान मधुरो देख्छन् भने सामान्य आवाज सुन्दैनन्।सोमबार बिहान मादी नगरपालिका वडा नम्बर १ उम्लिङका ५७ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung