४ श्रावण २०८३, सोमबार

 

दर्शनार्थीका लागि बागलुङ कालिका मन्दिर आजदेखि खुला

बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएको बागलुङ कालिका मन्दिर खुला गरिएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो ।

ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिकामा सोमबार करिब २ सय जनाले स्वास्थ्य मापदण्ड पालना गरी दर्शन गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । उनका अनुसार सामाजिक दुरी कायम गरी लाइनमा बसेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

‘प्रचार प्रसारको कमिले होला आज करिब २ सय जना दर्शनार्थी मन्दिरमा आउनुभएको थियो,’ खड्काले भने, ‘भोलि मंगलबार भएको हुनाले करिब ८ सय जनाले मन्दिरमा दर्शन गर्नेसक्ने हाम्रो आकलन छ ।’

कोभिडका कारण बन्द भएको कालिका मन्दिर ६ महिनापछि खुला भएको हो ।

प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड पु¥याएर खुल्न दिने र शैक्षिक संस्था स्थानीय तहले जिल्ला कोभिड–१९ संकट तथा व्यवस्थापनसँग समन्वय गरी खुलाउन पाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung