४ श्रावण २०८३, सोमबार

 

इन्द्रजात्राको अन्तिम दिन बसन्तपुरमा यस्तो देखियो

येँया पुन्ही, अर्थात् इन्द्रजात्राको अन्तिम दिन शुक्रबार नानिचाः यात्रा भएको छ । कुमारी रथ यात्राको तेस्रो दिन नानिचाःयामा विशेषगरी महिलाहरूले रथलाई बीचको टोलमा परिक्रमा गराएका छन् ।

येँयामा रथ तान्नेदेखि प्रायः बाह्य गतिविधिहरूमा पुरूष मात्र सरिक हुन्थे। रथ तान्दा प्रयोग हुने डोरीलाई शेष नागको प्रतीकका रुपमा लिइन्छ। पुरातन सोच बोकेका बूढापाकामा डोरी महिलाले छुनै नहुने र नाघ्नै नहुने मान्यता थियो।

आठ वर्षअघि महिला र पुरूषलाई समावेशी ढंगले सरिक गराउनुपर्छ भन्ने कुरा उठ्यो। त्यसपछि तीन दिन हुने कुमारी रथयात्रामा एकदिन महिलाहरूले मात्र रथ तान्ने दिन छुट्याइएको थियो। इन्द्रजात्राको अन्तिम दिन उनीहरूले बीचको टोल यट्खा, नरदेवी, किलाघः, भेडासिं, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानेका छन् ।

इन्द्रजात्राको अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । साँझ ८ः ५० बजे राष्ट्रपति त्यहाँ पुग्ने कार्यक्रम रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए ।

उनका अनुसार इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् (आज) आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung