२६ बैशाख २०८१, बुधबार

 

बागलुङमा पोलको भाडा नतिर्ने इन्टरनेट तथा केबुल सेवाको तार काट्न सुरु

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट तथा केवलको तार काट्न थालेको छ । केन्द्रले पोल भाडा नतिरेको भन्दै जिल्लाका विभिन्न स्थानमा रहेका पाँच सेवा प्रदायकको तार काट्न थालेको हो ।

पटक–पटक पत्राचार गर्दा पनि सम्झौता नआएको कारणले बागलुङमा सञ्चालित वल्र्डलिङ्क कम्युनिकेसन, पोखरा इन्टरनेट, बागलुङ केवल, सूर्य सञ्चार र टेकमाईन्ड नेटवर्क प्रालिको तार काटिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले जानकारी दिए ।

प्राधिकरणले दारेगौडा, रमेटार र मालिकाका विभिन्न ठाउँमा तार काटेको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न समयमा बिनाअनुमति प्रयोग गरिएका पोलको भाडा तिर्न समेत ताकेता गरिरहेको थियो ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय निर्देशनअनुसार बागलुङ वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट तथा केवुल टिभी प्रदायकको तार काटेको छ ।

इन्टरनेट तथा केवल सेवा प्रदायक कम्पनीहरुले प्राधिकरणसँग सम्झौता नगरी केवल, इन्टरनेटका तार विद्युतीय पोलमा आफूखुसी राख्दै आएका छन् ।

प्राधिकरणले नयाँ मूल्य अनुसार भाडा नतिरेको तथा पुरानो वक्यौता समेत नतिर्ने प्रदायकलाई यसअघि नै सार्वजनिक सूचना जारी गरी असोज १५ गते भित्र पोल भाडा तिर्न ताकेता गरेको थियो । नतिरेको खण्डमा तार काट्ने चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्