गलकोट रिश्मि गाउँका युवाहरुले समाज परिवर्तनको सुरुवात भन्दै अबदेखि सुत्केरा नबार्ने कार्यको थालनि गरेका छन ।
घरमा नयाँ सन्तान जन्मिदा त खुशी मनाउनु पर्नेमा उल्टो बन्धु मर्दा झैँ चाडपर्व, बिवाह, पुजाआजा, चौरासी जस्ता शुभकार्य रोकेर बस्ने मान्यता व्यवहारीक नहुने धारणा उनीहरुले अघि सारेका हुन ।
गलकोट नगरपालीका ९ रिश्मी घर भई रोजगारीका लागि हाल जापानमा रहेका उनीहरुले अहिलेको दशैँदेखि नै यो अभियान सुरु गरेको बताएका छन ।
देश विदेशमा रहेका साथिहरुसँग म्यासेन्जर ग्रुपमा छलफल गर्दा यो निचोडमा पुगेपछि सुत्केरा पर्दा बार्ने गरिएका कार्य सामान्य अवस्थामा जस्तै नियमित गर्ने अभियान सुरु गरिएको रिश्मी घर भई हाल जापान रहेका रामु सापकोटाले बताए ।
हिन्दु बैधिक धर्म अनुसार सगोतृया र नजिकका दाजुभाई बन्धु भित्र कोहि सुत्केरी भएमा शुभकार्य नगर्ने शास्त्रीय मान्यता रहेकाले त्यही प्रचलन गर्ने गरिन्छ ।
तर यी युवाहरूले यो संस्कार सुधार गर्ने भन्दै सुत्केरा परेका घर तथा दाजुभाई भित्रकाले समेत अहिलेको दशैँमा टिका लगाएर पुरानो चलन नमान्ने संकेत गरेका छन ।
उनीहरुले आफ्नो घरका बुवाआमा तथा आफन्तलाई समेत सुत्केरा नबार्ने चलन चलाउन आग्रह गरेका छन ।हामीले त धर्म संस्कार अनुसार मान्दै आएको चलन छोडेर हुदैन भनेका थियौं तर उनीहरुले मानेनन्, रिश्मीका प्रेम सागर सापकोटाले भने ।
उता बिदेश त टीका पनि लगाएछन, नमाने पछि हाम्रो त के लाग्छ र पण्डित मार्कनण्ड सुबेदीले पनि युवाहरूको कुरा बेठिक नभए पनि शास्त्रीय मान्यता अनुसार सुतक सुत्केरा बार्नुपर्ने बताए ।













































































































































































































