४ श्रावण २०८३, सोमबार

 

बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङका धार्मिक संघसंगठनहरुद्धारा विरोध

बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेका हिन्दुमाथि भएको आक्रमणको बागलुङका १६ धार्मिक संघसंगठनहरुले विरोध गरेका छन् ।

जिल्लामा क्रियाशिल हिन्दुधर्मसँग सम्बन्धित संगठनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै बंगलादेशका हिन्दु समुदायको सुरक्षित रुपमा बाँच्न पाउने तथा आफ्नो धर्मसंस्कृति अवलम्बन गर्न पाउने अधिकार सुनिश्चित माग गरेका हुन् ।

विश्व हिन्दु महासंघ नेपाल,शिवसेना नेपाल, नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ,स्कोन बागलुङ,कालिका भगवती गुठी व्यवस्थापन समिती ,राधाकृष्ण मन्दिर सेवा समिती ,सर्वसिद्धिधाम पञ्चकोट,गौरीधाम शिवमन्दिर समिती,तिरुपती बालाजी धाम कुँडुले, श्यामाश्या धाम (राधेराधे) ,ब्रह्महकुमारी ईश्वरीय विश्वविद्यालय (ओम शान्ती)सत्यसाई सेवा केन्द्र,संसारकोट सरक्षण व्यवस्थापन समिती,गर्गगोत्री आचार्य समाज,लक्ष्मीनारायण मन्दिर समिती,ओशो अमृत ध्यान केन्द्र, र ज्ञानोदय वुद्ध विहार बागलुङले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग गरेका हुन् ।

संघसंगठनहरु प्रतिनिधिहरुले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

हिन्दु समुदायको सुरक्षा र मानव अधिकारको रक्षाको लागि नेपालका प्रधानमन्त्रीले सम्बन्धित देशसँग आवश्यक समन्वय गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

वैदिक सनातन हिन्दु धर्ममा भएको सहिष्णुता तथा शान्तिप्रिय स्वभावलाई कमजोरी नठान्न उनीहरुले चेतावनी दिएका छन् ।

बंगलादेशमा हिन्दु समुदायविरुद्धको सांघातिक आक्रमणमा पाँच जना धर्मगुरुसहित पन्ध्र जना हिन्दुको हत्या गरिएको छ भने सयभन्दा बढी हिन्दुको घर जलाइएको र सयौ हिन्दु नारी बलात्कृत भएको घटना त्रासदीपूर्ण तथा आतातायी भएकोले घटनामा संलग्न अदिवादीलाई कडा कारवाहीको माग गरेको छ ।

कुनै पनि देशका जनताले आफ्नो धर्म मान्न पाउने अधिकारलाई सरकारले सुरक्षित गरिदिनुपर्ने दायित्व रहेको विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष हरि प्रसाद शर्माले बताए ।

हिन्दु समुदायविरुद्धको संघातिक आक्रमणबाट विश्वभरका हिन्दु सनातन धर्मावलम्बीहरु मर्माहत भएको नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङका प्रमुख अच्युत दासले बताए ।

धार्मिक युद्ध निम्त्याउने गरी भएको आक्रमण रोकेर दोषीलाई कडा कारवाही नभए थप आन्दोलनका कार्यक्रम घोषण गर्ने उनले बताए ।

हिन्दु समुदायमाथि भइरहेको आक्रमण र मठमन्दिरमा भएको तोडफोड तथा आगजनी नियन्त्रणमा नलिए त्यसको परिमाण राम्रो नहुने स्वामी ऋषि प्रपान्चार्यले चेतावनी दिए ।  संख्याको आधारमा कसैले कुनै समुदायमाथि अत्याचार गरे त्यसले ठूलो रुप लिन सक्ने भन्दै हिन्दुहरु चुप लागेर नवस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung