१५ बैशाख २०८१, शनिबार

 

बागलुङको कुँडुलेबाट म्याग्दीको रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

- ३ सय ८८ मिटर लामो पुलले १ घण्टाको बाटो ५ मिनेटमा छोटिने

बागलुङ नगरपालिका–४ कुँडुलेबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो ।

बागलुङ र म्याग्दीको सिमानामा बग्ने ढोडेनि खोलामाथि पुल निर्माण भएपछि १ घण्टाको बाटो ५ मिनेटमा छोटिने भएको छ । ३ करोड लागतमा बन्ने सो पुल निर्माणको लागि भानी हिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी सम्झौता गरेको छ ।

असोजको अन्तिम साना निर्माण सम्भौता गरेको कम्पनीले दुबै खण्डको फाउण्डेसनको काम थाल्ने भानी हिमशिखर जेभीका नरहरी खड्काले बताए ।

बागलुङ नगरपालिका ४ कँुडुलेको भुजेल चौरमा धान खेती रहेकोले म्याग्दीको रत्नेचौरस्थित बुढोचौर खेल मैदान तर्फको खण्डबाट काम सुरु भएको बागलुङ नगरपालिका ४ का वडा अध्यक्ष ध्रुब वहादुर केसीले बताए ।

आगामी असार मसान्त भित्र काम सक्ने गरी पुल निर्माणको काम अगाडी बढेको केसीले बताए ।स्थानीय तहको निर्वाचनमा आफू जनप्रतिनिधि भएर आएपछि निरन्तर पहल गरी डिपिआर तयार गरी अहिले पुल निर्माणको काम सुरु गराउन सफल भएको केसीले बताए ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा पुल निर्माण हुन लागेको हो । बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्रामको संग्रालयको अवलोकन गर्न आउनेलाई रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठुलो मानवनिर्मित बुढोपोखरीको प्रचार प्रसार हुने अपेक्षा गरिएको छ ।

रत्नेचौर, ज्यामरुककोट लगाएत आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमाभन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगाएतका गतिविधि गर्ने भएकाले पुलले आवत जावतमा झन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्