२६ बैशाख २०८१, बुधबार

 

मध्यपहाडीलाई लक्षित गरी तिलाचन धुरीमा टेलिकमको सेवा

रुकुम, रोल्पा र बागलुङको संगम हो, तिलाचन धुरी । यहाँका रिगा र तिलाचन तालले प्राकृतिक सौन्दर्यलाई थप बढाएका छन् । यी दृश्यले त्यहाँ पुग्ने जो कसैलाई लोभ्याउँछन् ।

मध्यपहाडी लोकमार्गको स्तरोन्नति र जिल्लाको पश्चिमी भूभागमा सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा चहलपहलसमेत ह्वात्तै बढेको छ । समुद्री सतह देखि ३ हजार ४ सय मिटर उचाइमा अवस्थित छ तिलाचन धुरी ।

३ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न पाइने भएकाले पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको आवागमनमा उल्लेख्य छ । पहिले–पहिले त्यस क्षेत्रआसपासमा गाईभैंसी, भेडाबाख्रा र चराचुरुङगीको मात्र आवाज सुन्न पाइन्थ्यो । पाती हाल्ने नामले परिचित उक्त ठाउँ तीन जिल्लाका गोठालाहरूको भेटघाट हुने विन्दु पनि हो ।

त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयलाई लक्षित गरी नेपाल टेलिकमले पहिलोपटक मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित तिलाचन धुरी ( पातीहाल्ने ) मा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाइल सेवा टुजी र फोरजी एक साथ शुभारम्भ गरेको हो ।

ग्रामीण र दूरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा सेवा विस्तार र स्तरोन्नतिको योजनाअनुरूप २५ मिटर अग्लो बीटीएस टावर बनाई सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

यसभन्दा अघि स्थानीय बासिन्दा, मध्यपहाडी लोकमार्गको निसी भल्कोटदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित थिए ।

मोबाइल सेवा सञ्चालनमा आएसँगै फोनमा कुराकानी गर्न र मोबाइल डाटामार्फत उच्च गतिको फोरजी सेवा प्रवाह भइरहेको छ । भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद टेलिकमले त्यहाँका जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पुर्‍याउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

‘अहिलेको डिजिटल युगमा मोबाइल प्रयोगकर्तालाई सहजता प्रदान गर्न टेलिकमले मध्यपहाडी लोकमार्गबाट १ घण्टाको उकालो गोरेटो बाटोमा घोडा–खच्चडमार्फत उपकरण र सामग्री ढुवानी गरेर त्यहाँ मोबाइल सेवा पुर्‍याएको हो,’ उनले भने ।

सेवा विस्तारसँगै गुणस्तर बढाउन टेलिकमले थप गृहकार्य अगाडि बढाइरहेको बताएको छ । टेलिकमको सेवा सुरु भएसँगै स्थानीय र त्यहाँ पुग्ने पर्यटक खुसी भएको पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए ।

त्यस ठाउँमा अहिले पनि विद्युत् सेवा पुगेको छैन जसकारण टेलिकमले टावरमा उच्च क्षमताको सोलार सेट जडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्