५ जेष्ठ २०८१, शनिबार

 

वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न आयोगको सरकारलाई सुझाव

निर्वाचन आयोगले आगामी २०७९ साल वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न उपयुक्त हुने सरकारलाई सुझाव दिएको छ।

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेटघाट गरी सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने सुझाव दिएका हुन्।

आगामी २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबारका दिन र दोश्रो चरण वैशाख २२ गते बिहीबारका दिन गर्न सकिने आयोगले जनाएको छ ।

भेटघाटमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडु एवम् नेपाल सरकारका मुख्य सचिव, गृह सचिव र अर्थ सचिव समेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालगायत आयुक्तहरु सहभागी थिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचन, मतदाता नामावली संकलन विशेष कार्यक्रम, स्थानीय तहको निर्वाचन, निर्वाचन सुरक्षा व्यवस्था तथा निर्वाचन खर्च लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको, मतदानको लागि ८ वटा मतदान स्थल र १४ वटा मतदानकेन्द्रको व्यवस्था गरिएको, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न पौष १० गतेसम्म निवेदन दिनुपर्ने कार्यक्रम रहेको, पौष २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागू हुने व्यहोरा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्