५ जेष्ठ २०८१, शनिबार

 

आगामी ३ वर्ष भित्र आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने काँग्रेस बागलुङको उद्घोष

नेपाली काँग्रेस बागलुङले  आफनै भवन निर्माण गर्ने भएको छ । आईतवार बागलुङमा पत्रकार भेटघाट गरि भवन निर्माण अभियान सुरु भएको जनाएको हो ।

बागलुङको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बागलुङ सदरमुकाममा सुविधा सम्पन्न घर निर्माण गर्ने निर्णय गरेको काँग्रेस बागलुङ सभापति जितबहादुर शेरचनले बताए ।

पहिलो बैठकले पार्टी कार्यालय निर्माणका लागि पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउनुका साथै सहयोग सङ्कलन अभियानको पनि सुरुवात गरेको शेरचनले जानकारी दिए ।

भवन निर्माणका निम्ति जग्गा व्यवस्थापन साथै सहयोग सङ्कलन अभियानको पहिलो दिन जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले २ लाख ५० हजार, बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले २ लाख १ हजार १५१, जिल्ला सदस्य तेजेन्द्र विक्रम कुँवरले १ लाख, कृष्णबहादुर घिमिरेले १ लाख र टिकाराम थापाले एक लाख ११ हजार सहयोग गरेका छन् ।

आइतबार मात्रै सात लाख ६२ हजार १५१ रुपैयाँ सङ्कलन भएको नेपाली कांग्रेस बागलुङले जनाएको छ । पार्टी कार्यालयलाई व्यवस्थित बनाउनका निम्ति सुविधासम्पन्न भवन निर्माण गर्ने प्रतिबद्धता सहित आगामी २÷३ वर्षमा आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने सभापति शेरचनले बताए ।

हल नहुँदा पार्टीका महत्वूर्ण कार्यक्रमहरु भाडामा हल लिएर गर्नु पर्ने अवस्था रहेको हुँद यो अभियानलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।

बैठकले स्थानीय तहदेखि केन्द्रसम्म निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना व्यक्त गरेको छ । त्यसैगरी वडा तहदेखि आएको नेतृत्वलाई अझै सुदृढीकरण गर्नका लागि जिल्लाबाट सबै वडा र स्थानीय तहमा सङ्गठन सुदृढीकरणको अभियान सञ्चालन गरिने निर्णय भएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।

‘अबको स्थानीय तहको निर्वाचनमा काँग्रेसको नेतृत्व आउने गरी सङ्गठन निर्माणको अभियानलाई अगाडि बढाउने छौं, सचिव शर्माले भने,–यसका लागि हरेक पालिकामा संयोजक र सदस्यको समेत जिम्मेवारी तोकिएको छ ।

सोही अनुसार पार्टीको सङ्गठन सुदृढीकरणको अभियान अगाडि बढ्ने छ । ’ उनले जिल्ला कार्यसमितिले जिल्लामा सञ्चालन भएका राष्ट्रिय गौरवका आयोजनाको निर्माणमा भएको ढिला सुस्तीप्रति विशेष ध्यानाकर्षण गराउँदै तत्कालै प्रभावकारी ढंगले निर्माण गर्नका लागि सम्बन्धित निकायलाई खबरदारी गर्ने निर्णय गरेको बताए ।

विषेश गरी मध्यपहाडी लोकमार्ग बागलुङ विहुँ खण्डको कामका बारेमा निरन्तर खबरदारी गर्ने र यसलाई तत्काल काम गर्न दबाब दिने काँग्रेस बागलुङले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रम काँग्रेस बागलुङका सचिव हरिहर शर्माले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्