३१ बैशाख २०८१, सोमबार

 

विद्युत अनियमित हुँदा उपभोक्तालाई हैरानी

बागलुङमा नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । पटकपटक जाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ । नेपाल लोडसेडिङमुक्त भनिए पनि गण्डकी प्रदेशको दोश्रो व्यापारिक केन्द्रका नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन् । जसले बागलुङवासी पुरानै नियति खेप्न बाध्य छन् ।

विद्युत अनियमित हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ । बत्ति कतिखेर आउँछ जान्छ थाहा नै हुँदैन, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले भने, ‘विद्युत हुनु र नहुनुमा फरक छैन ।’ झ्याप्पझ्याप्प बत्ति जाँदा दैनिक काम प्रभावित हुने यहाँ सञ्चालित उद्योगीहरूले जनाएका छन् ।

‘बत्ति एकछिन आएर एकैछिनमा जान्छ,’ बागलुङ नगरपालिका ४ को पनेरा ग्रिलका संचालन केवी पुनले भने, ‘बत्ति आउने जाने हुँदा काम नै हुँदैन ।’ लोडसेडिङको तालिका नभए पनि अनियमित हुँदा समस्या भएको उनको भनाइ छ । पटकपटक आउने जाने हुँदा विद्युतीय सामग्रीमा समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाइ छ । सामान्ने झरी पर्दा र हावा चल्दा विद्युत अनियमित हुने गरेको छ । म्याग्दीको दानाबाट केही समयदेखी विद्यूत आपूर्ती बन्द भएको र पर्वतबाट आउने लाईनमा समस्या आउदा बागलुङमा विद्युत अवरुद्ध हुने गरेको बागलुङ वितरण केन्द्र प्रमुख दिलिप मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्