५ जेष्ठ २०८१, शनिबार

 

मुलपानी स्वास्थ्य चौकी भवनको शिलान्यास

बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास पछि उपप्रमुख राजु खड्काले ७ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज बनाउने बताउनुभयो ।

उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । स्थानीय मेघराज पाण्डेले निःशुल्क दिएको चार रोपनी जग्गामा भवन निर्माण गर्न थालिएको हो । २०८० वैशाख १९ गते भित्रै भवन निर्माण सक्ने गरी एक करोड ७० लाखको लागतमा जुम्ली निर्माण सेवाले २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले भवनको फाउण्डेशनको काम गरिरहेको छ ।

साँघुरो जीर्ण भवनबाट सेवा दिदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बन्न थालेसंगै लामो समयको प्रतीक्षापछि भवनको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । अहिले मुलपानी स्वास्थ्यचौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिदा असहज भएकाले नयाँ भवन संगै सेवामा वृद्धि गर्न सकिने मुलपानी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहेपनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुँने वडा अध्यक्ष मेघराज शर्माले बताउनु भयो ।
२०५२ सालमा स्थापना भएको स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी भएपनि भवन साँघुरो भएका कारण बिरामीलाई स्वास्थ्य सेवा दिन समस्या हुँने गरेको छ ।

गर्भवती जाँच र परिवार नियोजनको परिक्षण र सल्लाह दिनकालागि गोप्य कोठा समेत नभएको स्वास्थ्यचौकीका इन्चार्ज शर्माले बताउनुभयो । दुई तलाको पक्की भवन निर्माण पछि स्वास्थ्य सेवा प्रदान गर्न सहज हुँने र सदरमुकाम आउ बाध्य विरामीलाई समेत उपचार गर्न सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्