१८ भाद्र २०८३, बिहीबार

 

दुर्गा पाञ्चायन मन्दिरको उद्घाटन

बागलुङ नगरपालिका–१३ पैयुँपाटा, काल्ले धैरेनीमा रहेको दुर्गा पाञ्चायन मन्दिरको आईतबार उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर पुनः निर्माण पश्चात एक कार्यक्रमका बिच बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उदघाट्न गरेका छन ।

मन्दिर पुनःनिर्माणका निम्ती करिब १० लाख रुपैया खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर खत्रीले जानकारी दिए । स्थानीयको सक्रियता २०४५ सालमा स्थापना भएको मन्दिरमा भगवान शिव, गणेश, देवी, सूर्य र विष्णुको छुट्टाछुटै मन्दिर रहेका छन ।

मन्दिरको समुद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले एउटै स्थानमा विभिन्न देवी देवताको मन्दिर रहेको यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न सकिने बताए ।

उनले बलेवा क्षेत्रमा थुप्रै धार्मिक सम्पदा रहेका कारण यसको संरक्षण र प्रर्वद्धनका निम्ति सबै जागरुक हुन आवश्यक रहेको बताए । श्रेष्ठले मन्दिर तथा पार्टी पौवाहरु आफ्नो मौलिक संस्कृति संरक्षणको थलो समेत भएको बताए ।

‘हाम्रो संस्कृति र धार्मिक परम्पराको संरक्षण हामीले नै गर्ने हो । श्रेष्ठले भने,–‘आफ्नो आफ्नो परम्परा र रितिरिवाज अनुसार सबै क्षेत्रको संरक्षण गरौं, आस्था अनुसार धर्म मानौ मठमन्दिर आत्मा सम्तुष्टी मिल्ने ठाउँ हुन ।

कार्यक्रममा बागलुङ नगरपालिका–१३ पैयुँपाटाका अध्यक्ष नारायण शर्मा पौडेल, नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, समाजसेवी डा रामबहादुर केसीले धार्मिक एवं सांस्कृतिक सम्पदाको सबैले संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर खत्रीको अध्यक्षता, मन्दिरका संस्थापक प सोमनाथ पौडेलको स्वागत र दिवाकर पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्दिर पुनःनिर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung