२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथद्वारा रक्तदान

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।शनिबार बागलुङ बजारको रक्त संचार केन्द्रमा सम्पन्न भएको रक्तदान कार्यंक्रमको उद्घाटन बागलुङ नगरपालिका वडा नं २ का वडा सदस्य विदेश कुमार श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रममा उनले लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले सर्वसाधारण नागरिकको स्वास्थ्य, शिक्षा, आर्थिक र सामाजिक हितको लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो। कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङको अध्यक्ष निर्माण कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङको सभापति जब्बर बहादुर लामिछाने र लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष जुनु श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

रक्तदान कार्यक्रमको प्राविधिक सहजिकरण नेपाल रेडक्रस सोसाइटी बागलुङको रक्त संचार केन्दका इन्चार्ज गुरुदत्त शर्माले गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा १२ जना रक्तदाताले रक्तदान गरेका थिए ।नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रको सहकार्यमा भएको कार्यक्रमबाट मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने रगतको अभाव हुन नदिन लायन्स क्लबहरु कटिबद्ध रहेको सन्देश दिन उक्त कार्यक्रम गरिएको क्लबले जनाएको छ ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष जुनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष सुनीता श्रेष्ठले र संचालन क्लबको सचिव सीता राजभण्डारीले गरेकी थिइन् ।लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ महिलाहरुको नेतृत्व विकास, सामाजिक, स्वास्थ्य, शैक्षिक र मानविय सेवामा समर्पित छ ।

 

प्रतिक्रिया दिनुहोस्