बाग्लुङ । नेपालकै महत्त्वपूर्ण मेलाहरु मध्येको चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन हुने भएको छ । हरेक वर्षको चैतेदशैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिने खड्काले जानकारी दिए।
परम्परागत रुपमा सयौं वर्षदेखि लाग्दै आएको मेलालाई पछिल्ला वर्षदेखि गुठी व्यवस्थापन समितिले व्यवस्थित गरि सञ्चालन गर्दै आइरहेको छ ।पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्काले बताए।
पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भएपनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्त्व र इतिहास रहेको अग्रजहरु बताउँछन् ।मेलाको आयोजनाका लागि विभिन्न उप समितिहरु गठनगरि तयारी सुरु गरिएको मुल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष खड्काले बताए ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरि पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।
पुजाअर्चनाका लागि मन्दिरमा हरेक समयमा सयौं भक्तजनको भिड हुने भएपनि विशेषत चैतेदसैँ र बडा दसैँमा लाखौंको सङ्ख्यामा भक्तजनको भिड हुने समितिले जनाएको छ ।
















































































































































































