सबराज छन्त्याल ३९ वर्षका भए। एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै थिए। जनयुद्धको रापताप चलेको थियो। देशमा सङ्कटकाल घोषणा भयो। यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो।
युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो। साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पुर्याए।
अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे। उक्त आतातयी घटना भएको २१ वर्षपछि बुवाको चिहान खोज्दै सबराज र उनका भाइ भीषण बुधबार अर्गल पुगे।
रोशनध्वजकी धर्मपत्नी गौमला, छोराहरू गामु, सुगम, डोरबहादुरकी धर्मपत्नी फूलमाया र छोरी सपना पनि सँगसँगै गएका थिए। घटना भएकै दिन पारेर उनीहरू निसीखोलाको देवीस्थानदेखि ताराखोलाको अर्गल पुगेका हुन्।
‘घटना भएकै ठाउँमा सानो शोकसभा गर्यौँ, बुवाको स्मृतिमा धुपबत्ती बाल्यौँ’, सबराजले भने, ‘सहिद परिवारका हिसाबले पहिलोपटक त्यहाँ पुग्दा हामी सबै भावुक पनि भयौँ, नरमाइलो अनुभूति पनि भयो।’ परिवारजनले सहिदको चिहान भएको ठाउँमा पहिलेदेखि नै जाने इच्छा देखाएका थिए।
यसपालि बेला जुर्यो। वार्षिक पुण्यतिथि पारेर उनीहरू गयार पुगे। निरापराध मारिएका आफ्ना प्रियजनको चिहान छेउ उभिएर मौनधारण गरे, सहिदको सम्मानमा श्रद्धाका फूल चढाए र पार्टीको झण्डा गाडे। सहिदको स्मृतिलाई चीरस्थायी बनाउन गयारमा केही गर्ने सङ्कल्प पनि लिए।
‘परिवारजनका तर्फबाट त्यहाँ स्मृति स्तम्भ या अरु कुनै संरचना बनाउने सोच बनाएका छौँ’, सबराजले भने, ‘गाउँपालिकाले पनि गयारमै सहिद उद्यान बनाउन थालेको रहेछ, त्यो सुखद् कुरा हो।’ उनले युद्धमा आफन्त गुमाएका परिवारले न्याय र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरे।
गाउँकै मान्छेले माओवादीका सुराकी भनेर गलत सूचना दिएपछि रोशनध्वज, टीका र डोरबहादुर सुरक्षाकर्मीको निशानामा परेका थिए। माओवादीको सहयोगी बनेको आरोपमा ज्यानै गुमाउन पुगेका उनीहरू खासमा भने राष्ट्रिय जनमोर्चामा आबद्ध थिए।
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले रोशनध्वज तत्कालीन जिल्ला सदस्य र अन्य दुई सक्रिय कार्यकर्ता रहेको बताए। ‘माओवादीलाई खाना, बास दिएको भन्ने शङ्कामा निर्मम यातना दिएर उहाँहरूको हत्या गरिएको थियो’, सचिव पोखरेलले भने।
लिकोप्टरबाट भातखाने डाँडामा ओरालेपछि सुरक्षाकर्मीले कुट्दै गयार भन्ने ठाउँमा लगेर हत्या गरी गाडेको उनले बताए। ताराखोलाको केन्द्र भातखाने डाँडाबाट अझै उकालो चढेपछि गयार आइपुग्छ। गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रूपमा प्रयोग गरेको थियो।
त्यहाँ एकैसाथ मारिएका तीनै जनालाई माओवादी र जनमोर्चा दुवैले सहिदका रूपमा सम्मान दिइरहेका छन्। सहिद रोशनध्वजकी धर्मपत्नी गौमला र टीकाका छोरा सबराज निसीखोलाको कार्यपालिका सदस्यसमेत हुन्।
जनमोर्चाका कार्यकर्ता भए पनि जनयुद्धका सहिदकै रूपमा सूचीकृत गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरेले बताए। ‘उहाँहरूको हत्या भएको ठाउँमै गाउँपालिकाले सहिद उद्यान बनाइरहेको छ, पार्टीले पनि त्यसमा पहल लिइरहेको छ’, उनले भने, ‘त्यसबेला जनमोर्चामा सक्रिय रहे पनि माओवादी आन्दोलनप्रति उहाँहरूको सदासयता र समर्थन थियो।’
युद्ध पर्यटनको नमुना योजनाका रूपमा गयारको सहिद उद्यानलाई अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ। बहुवर्षीय योजनाअन्तर्गत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ। यसअघि त्यहाँ गण्डकी प्रदेश सरकारको बजेटबाट पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको थियो। संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ। पदमार्गमा गाउँकै ‘स्लेट’ राखिएको छ। प्रतीक्षालय काठ र ढुङ्गाको बनाइएको छ।
लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार दुई सय ९१ वर्गमिटरमा उद्यानका संरचना बन्नेछन्। उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अरु पूर्वाधार बन्न बाँकी नै छ।
बजेटको स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ। जनयुद्धमा ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ। ताराखोला जनयुद्धबाट बढी प्रभावित ठाउँ हो।
उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ। युद्धबाट उठेको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ।













































































































































































































