२७ बैशाख २०८१, बिहीबार

 

प्रहरी इन्चार्ज उज्जल पौडेलको बर्बरतापूर्ण हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष

- 'हत्यामा संलग्न होटल सञ्चालक ५१ वर्षीय महिला आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवर प्रहरी नियन्त्रणमा'

सोमबार राती मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको बर्बरतापूर्णरुपमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार होटल सञ्चालकसँगको विवादमा सञ्चालक आशा कुँवर र निजको छोरा विनोद कुँवरले पौडेलको टाउकोमा मरणासन्न हुनेगरी कुटपिट गरेपछि पौडेलको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बडिगाड गाउँपालिका ६ को आसा खाजा घर तथा रेस्टुरेन्टमा इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेल खाजा खान गएका थिए । पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए ।

जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्कासहितको टोलीले मंगलबार दिउँसो घटनास्थल मुचुल्का गरी शव लागि पोखरा लगेको थियो । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीले बुधवार होटल संचालक कुँवरका आमाछोरालाई जिल्ला अदालतमा पेस गरेपछि अदालतले ५ दिनको म्याद थप गरी प्रहरीलेथप अनुसन्धान अगाडि बढाएको छ ।

हेर्नुहोस् सुचनास्

प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमै पुगि घटनामा संलग्न होटल सञ्चालक र निजको छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।

स्थलगत अनुसन्धान पश्चात् मंगलबार साँझ प्रहरी प्रमुखको टोलि सदरमुकाम फर्किएको र होटल आशा एण्ड खाजा घरका सञ्चालक बर्ष ५१ कि आशा कुँवर र निजको छोरा २० वर्षीय बिनोद कुँवरको प्रारम्भिक बयानबाट घटनाको यथार्थ बाहिर ल्याएको हो ।

मघ्यपहाडी लोकमार्गसँगै जोडिएको बडिगाड गाउँपालिका ६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति ८: ०० बजे गएका पौडेलको ११:३० बजे आमाछोराले बर्बरतापुर्ण रुपमा हत्या गरेको निजहरुको बयानबाट खुल्न आएको हो ।
हत्या पश्चात् होटल सञ्चालनले वडा अध्यक्षलाई खबर गरेपछि घटना बाहिर आएको थियो । मृतक पौडेलको टाउको, घाँटी, छातीमा मुक्का हानि बेहोस् बनाएपछि झ्यालको पर्दाले घाँटीमा कसी हत्या गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मृतक पौडेलको शव पोष्टमार्टमको लागि मंगलबार साँझ नै गण्डकी स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरा लगिएको थियो । सोमवार दिनभर वडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ जाने क्रममा उक्त होटलमा खाजा खान पसेको स्थानीयलाई उद्दृत गर्दै बडिगाड गाउँपालिका(६ का वडा अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकामबाट करिव ७५ किलोमिटर पश्चिमा पर्दछ ।

प्रहरी अधिकृतनै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका उपशंकाहरु पैदा भएको छ । समाजमा घटेका घटनाहरुको अनुसन्धान गर्ने प्रहरी अधिकृतनै मृत फेला परेको घटनाको सुक्ष्म अनुसन्धान गरि प्रहरीले घटनाको वास्तविकता ल्याउनुपर्ने स्थानियहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्