बागलुङ । बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले सडक फराकिलो बनाउन मापदण्ड र अनुमति बिना बनाएका अबैध संरचनाहरु हटाउने अभियानको सुरुवात आफनै कार्यालयको भवनको पर्खाल भत्काएर सुरु गरेका छन् ।बिहीबार नगरपालिकाको पर्खालमा डोजर लगाएर पर्खाल हटाउनुको साथै दि राजन होटलदेखि विद्युत कार्यालयसम्मको सडकसम्म फराकिलो बनाउने काम सुरु गरेको छ ।
बागलुङ बजारका मुख्य मुख्य सडक र भित्री सडक स्तरोन्नतिको काम अगाडि बढाउन नगरपालिकाले सडकका संरचनाहरु हटाउन सुरुवात गरेको हो ।यसका लागि नगरपालिकाले सूचना जारी गर्नुको साथै, टोल टोलमा प्राविधिक पठाएर नाप जाँचको काम अगाडि बढाएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बताउनु भयो ।
केहि दिनदेखि बजार क्षेत्रमा सडक पेटीमा राखिएका निर्माण सामग्री र व्यवसायीक सामान नगरपालिकाले नगरप्रहरी परिचालन गरेर हटाएको छ भने फुटपाथ मिचेर गरिँदै आएका व्यवसायको व्यवस्थापन गरि ठेला र डोकोमा सामान बेच्ने साना व्यवसायीहरुलाई बागलुङ नगरपालिकाले विहान र साँझको समय निर्धारण गरेको छ ।



नगरपालिकाकाले सडक क्षेत्र खाली गर्न सूचना जारी गर्नुको मुख्य कारण थियो, एक वर्षदेखि अलपत्र मुख्य बजार क्षेत्रको सडक विस्तार योजनाको काम अघि बढाउनु।नगरपालिकाकाले सडक क्षेत्र खाली गर्न यसअघि पटक–पटक सरोकारवालासँग छलफल र अनुरोध गरेपनि त्यस्ता संरचना नहटाएपछि सात दिने सूचना नै जारी गरेको थियो ।
अहिले नगरपालिकाले दिएको समयावधि सकिएपछि गाउँ र मुख्य बजार क्षेत्रमा रहेका विद्युतका पोल, नेपाल टेलिकम तथा इन्टरनेट प्रदायक संस्थाका तारहरु तथा सडक किनारामा पर्ने रुख तथा भौतिक संरचना हटाउने भएको छ ।
सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार विहीबारदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिनु भयो ।नगरपालिकाले यो काम समयमै अगाडि बढाउन नसक्दा लामो समयदेखि सडक स्तरोन्नति र फुटपाथ व्यवस्थापनको योजना अलपत्र परेको थियो ।
अवैध संरचना हटाइसकेपछि सडक विस्तारको योजनाले गति लिने, पैदल यात्रुलाई हिडडुल गर्न धेरै सहज हुने, दुर्घटना न्युनिकरण हुने, ट्राफिक व्यवस्थापनमा सुधार हुने र व्यापार व्यवसाय गर्न पनि धेरै सजिलो हुने मेयर श्रेष्ठले बताउनु भयो । सडक विस्तारपछि नगरपालिकाले सडकमा हुनुपर्ने संरचनाको विकास गर्ने, जेब्रक्रस, सडक लेन र फुटपाथको संरचना बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ ।
यस अघि बागलुङ नगरपालिकाका तत्कालिन मेयर जनक राज पौडेलले ऐश्वर्य पार्क, बागलुङ नगरपालिका वडा नं २ कार्यालय अगाडिको चोक, भूपि चोक, धौलागिरि बहुमुखी चोक अगाडिको जिपपार्क चोकको सडक फराकिलो पारेका थिए तर त्यस कामले भने पूर्णता पाउन सकेको थिएन् । बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पनि यो अभियानलाई निष्कर्षमा पुर्याउछन कि पुर्याउदैन त्यो भने हेर्न बाँकी नै छ ।























































































































































































