५ जेष्ठ २०८१, शनिबार

 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा औषधालयको उद्घाटन

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ नगरपालिका–४ कुँडुलेमा बनेको शालग्राम संग्रहालय पर्यटनका हिसाबले महत्वपूर्ण रहेको बताउनुभएको छ ।शनिबार कुँडुलेमा आयोजित स्वामी श्रीधराचार्यको ८४औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सुरुङभित्र रहेको शालग्राम संग्राहलय धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो ।

संग्रहालयको प्रचारप्रसार गरि विश्व भरका धार्मिक पर्यटक तान्न सक्ने धार्मिकस्थल निर्माण भएको भन्दै पर्यटनको हिसाबले महत्वपूर्ण गन्तव्य बन्न सफल भएको बताउनुभयो । सो अवसरमा अध्यक्ष ढकालले श्रीधराचार्य औषधालयको उद्घाटन गर्नुभएको थियो ।

योग, आयुर्वेद, प्राकृतिक तथा आधुनिक चिकित्सालयले स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, वैदिक गुरु पुरुषोत्तम ढकाल, प्राध्यापक डा जगन्नाथ रेग्मी, डा भोलानारायण रेग्मी, उप–प्रध्यापक विष्णु मैत्रय, स्वामी नारायणाचार्य, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्दिरमा आएको भेटी, शालग्राम संग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले र विदेशमा रहेको युवाहरुको सहयोगमा औषधालय स्थापना गरिएको स्वामी ऋषिप्रपन्नाचार्यले बताउनुभयो । कार्यक्रमको अवसरमा संंस्कृत भाषा अध्यापनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वैदिक गुरु पुरुषोत्तम ढकाललाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्राध्यापक डा जगन्नाथ रेग्मीले गुरु तथा मुक्तिनाथ महिमाको बारेमा कविता वाचन गर्नुभएको थियो । मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यको अध्यक्षतामा तिरुपति बालाजीधामका उपाध्यक्ष हरीप्रसाद उपाध्यायको धन्यवाद मन्तव्य स्वामी रंगराजको स्वागत र सुदर्शन बरालको संचालनमा सम्पन्न भएको थियो ।

मुक्तिनाथ पिठाधीश्वर कमलनयनाचार्यले पञ्चकोट, शालग्राम संग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विश्वमै चिनाउने अभियानमा लागेको बताउनुभयो । आफ्नो धर्म रक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्