५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगर स्वास्थ्य संस्था तथा फार्मेसी संचालन कार्यविधि संशोधनको माग

बागलुङ। बागलुङका औषधी व्यवसायीहरुले नगरपालिकाले ल्याएको बागलुङ नगर अस्पताल स्वास्थ्य संस्था फार्मेसी सेवा संचालन कार्यविधि २०७८ लाई संशोधन गरी कार्यान्वयनमा लैजान माग गरेका छन् ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला समिति बागलुङको आयोजना र बागलुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित अन्तक्रिया कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन् ।

बागलुङ नगरपालिकाले २०७८ सालमा तयार पारेको कार्यविधिमा केही कुराहरु संशोधन गर्न आवश्यक रहेको सहभागिले बताएका हुन् । अन्तराष्ट्रिय मापदण्डलाई आधार मानेर कार्यविधि निर्माण भएको भन्दै जिल्ला र भूगोल सुहाउदो बनाउनुपर्ने व्यवसायीले माग गरेका छन् ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले कार्यविधि दुइ वर्ष अगाढी बनेको र संसोधन गर्नुपर्ने विषयमा नगरपालिका तयार रहेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले औषधी व्यवसाय अरु व्यवसाय जस्तो नभएकोले यसमा व्यवसायी अति सम्वेदनशिल बन्नुपर्ने भन्दै औषधी व्यवसायीलाई आफ्नो पहिचान सहितको पेसा बनाउन आग्रह गर्नु भएको छ ।

पसलमा नुन तेल बेचेजस्तो औषधी बेच्ने नभएकोले हरेक औषधी पसलमा औषधी विज्ञको निगरानी वेगर वेच्ने नहुने बताउनुभयो । कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समितिका संयोजक चित्राङगत बरालले कुनै पनि व्यवसायीले व्यवसाय गर्दा अनिवार्य रुपमा दर्ता, मापदण्डको पालना गरि पेसा व्यवसाय संचालन गर्नुपर्ने बताउनुभयो ।

अनुगमनको क्रम पहिलो संवेदनशिलतामा रहेकाले यस क्षेत्रमा संलग्न सवै पूर्ण जिम्मेवार बन्न आग्रह गर्नुभयो । बरालले औषधी व्यवसायीलाई पूर्ण नैतिकवानका साथ गुनासो नआउने गरी व्यवसाय संचालन गर्न आग्रह गर्दै आफ्नो क्षमता भन्दा बाहिरको काम नगर्न सचेत गराउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, नेपाल औषधी व्यवसायी संघ जिल्ला समितिका महासचिव खगेश्वर पौडेल र उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा व्यवासायीले राखेका जिज्ञासाको बारेमा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमा नेपाल औषधी व्यवसायी संघ जिल्ला समिति बागलुङका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता प्रदेश उपाध्यक्ष शिव केसीको स्वागत र नगरपालिकाका स्वास्थ्य शाखा सिअहेव अधिकृत विष्णु प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्