१७ बैशाख २०८१, सोमबार

 

बैंकर्स बागलुङद्वारा एभरेस्ट बैंकका शाखा प्रबन्धक ज्ञवालीको विदाई, नयाँ शाखा प्रबन्धक डंगोलको स्वागत

बागलुङ । बैंकर्स बागलुङले सरुवा भएर काठमाडौं जान लागेका एभरेस्ट बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक सुजीत ज्ञवालीको विदाई तथा उहाँको ठाँउमा पोखराबाट सरूवा भएर आउनु भएका शाखा प्रबन्धक सुरज कुमार डंगोललाई स्वागत गरेको छ।

सुजीत ज्ञवाली एभरेस्ट बैंक लिमिटेड बागलुङ शाखामा चार वर्षदेखि शाखा प्रबन्धकको रुपमा कार्यरत थिए । आफनो कार्यकालमा सम्पूर्ण बैंकर्स एवं व्यवसायीहरुबिच सुमधुर एवं सालिन सम्बन्ध कायम राख्न सफल ज्ञवाली आफ्नो सफल कार्यकाल पुरा गरी सरुवा भएर काठमाडौं जान लागेका हुन्।

मेरो बागलुङ बसाईमा सहयोग गर्नु हुने सम्पूर्ण बैंकर्सहरूलाई धन्यवाद व्यक्त गर्दछु शाखा प्रबन्धक सुजीत ज्ञवाली भन्नु भयो । मैले मोफसलको विभिन्न जिल्लाहरुमा काम गर्ने मौका पाए त्यसमध्ये बागलुङको अनुभव र अभ्यासले मलाई अगाडि बढ्न धेरै प्रेरणा दिने ज्ञवालीले बताउनु भयो ।

त्यसमा पनि बैंकर्सहरूको साझा फोरम बैंकर्स बागलुङले आफ्नो बसाईलाई अझ आनन्दित बनाएको प्रबन्धक ज्ञवालीको भनाई थियो। आफूलाई सबैको सहयोग र सद्भाव भएमा उत्कृष्ट सेवा दिन सकिने एभरेस्ट बैंक लिमिटेड बागलुङ शाखाका नवआगन्तुक प्रबन्धक सुरज कुमार डंगोलले बताउनु भयो ।

सरुवा भएर काठमाडौं जान लागेका एभरेस्ट बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक सुजीत ज्ञवालीको र पोखराबाट सरूवा भै आएका शाखा प्रबन्धक सुरज कुमार डंगोलको बैंकिङ यात्राको सफलताको शुभकामना व्यक्त गर्दछु बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले भन्नु भयो ।

बागलुङमा रहेका सम्पुर्ण बैंकका शाखा प्रबन्धकहरूको उपस्थिति रहेको उक्त बिदाई तथा स्वागत कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको अध्यक्षता र सचिव हरि अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्