१५ बैशाख २०८१, शनिबार

 

इमान्दारीता पूर्वक काम गरे सकरात्मक परीणाम आउँछ : प्रजिअ रोशनी कुमारी श्रेष्ठ

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले विना स्वार्थ इमान्दारिता पूर्वक काम गरे सफल भईने बताउनु भएको छ। भक्तपुरको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएर जान लाग्नु भएको श्रेष्ठलाई बुधबार नेपाल भाषा मंका खल बागलुङले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

बागलुङ बसाइको क्रममा सर्वसाधारण जनता र सेवाग्राहीको हितमा काम गर्न आफूले सकेको प्रयत्न गरेको भन्दै यसेको लागि साथ दिने सबैलाई धन्यवाद दिनु भयो । जिल्ला प्रशासन कार्यालयबाट दिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन, नयाँ सेवा दिन र विकास निर्माण लगाएत समस्याले घेरेको क्षेत्रको समस्या समाधान गर्न आफूले इमान्दारीता पूर्वक कोशिस र प्रयास गरेको कारण राम्रो परिणाम आएको उनको भनाई थियो ।

यसको लागि सबै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता , नागरिक समाज, पत्रकार, राष्ट्रसेवक कर्मचारीको सहयोग पाएको बताउनु भयो । बागलुङको अभ्यास र अनुभवले आफूलाई अगाडि बढ्न थप प्रेरणा मिलेको र आत्मविश्वास पनि बढेको समेत बताउनु भयो । आफू बागलुङको प्रमुख जिल्ला अधिकारी भएर आएपछि जिल्ला प्रशासन कार्यलयको सेवालाई सेवाग्राहीमुखी र झन्झत रहित गराउन प्रयत्न गरेको बताउनु भयो ।

राहदानीको लागि जनताले धेरै सास्ती भोग्दै आएकोमा आफनो नेतृत्वमा नागरिता, राष्ट्रिय परिचयपत्र, राहदानी को लागि एक दिनमा प्रशासनको काम सक्ने व्यवस्था मिलाएको, प्रशासनको काममा हुने ढिलासुस्तीलाई सुधार गरेको, नागरिकको सहजताको लागि हुलाकको टिकट कार्यलयबाटै विक्री गर्ने व्यवस्था मिलाएको बताउनु भयो।

कार्यालयको नागरिकता फाँटमा इनटरफेस कम्प्यूटरको व्यवस्था गरि आफ्नो काम नागरिकले हेर्न मिल्ने व्यवस्था गरेको बताउनु भयो ।वर्षौदेखि अलपत्र मध्यपहाडी लोकमार्गको काम सुचारु गर्न आवश्यक समन्वय र निर्देशन दिएको, मध्यपहाडी तल्लो खण्डको काम छिटो भन्दा छिटो गर्न सहजिकरण गरेको, माथिल्लो खण्डको काम मुद्धा परेकोले विचाराधिन रहेको, वुर्तिवाङको इलाका प्रशासन कार्यालयव्यवस्थाको लागि काम सुरु भएको, बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ तदर्थ समिति बनाएर सेवा प्रवाहलाई राम्रो बनाएको, जैमिनी नगरपालिकामा वषौैदेखि विवादित खानेपानी आयोजनाको समस्या समाधान गरी कुश्मिसेरा बजारमा खानेपानीको व्यवस्था मिलाउन आवश्यक पहल गरेको स्मरण गर्नु भयो ।

सो अवसरमा नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले राष्ट्र सेवक कर्मचारीले चाह्यो भने धेरै क्षेत्रमा सुधार हुने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको बागलुङ बसाई महत्वपूर्ण र सफल भएकोले यसले सबैलाई सकरात्मक सन्देश जानु राजभण्डारीले बताउनु भयो ।

सबै क्षेत्रमा जस्तै निजामति क्षेत्रमा पनि महिलाहरुको उल्लेख आगमनले महिला र पुरुषबिचको विभेद अन्त्य गर्न मद्दत मिल्ने उहाँको भनाई थियो ।कार्यक्रममा नेपाल भाषा मंका खल बागलुङका सल्लाहकार देवबहादुर श्रेष्ठ, शैलेन्द्र कुमार श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र सचिव सुदिप राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।बागलुङका प्रमुख जिल्ला अधिकारी श्रेष्ठ भक्तपुर सरुवा गरेपनि बागलुङमा भने नयाँ प्रजिअ खटाइएको छैन । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत श्रेष्ठलाई गत माघमा बागलुङको प्रजिअ बनाई पठाएको थियो ।

बागलुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका श्रेष्ठले ७ महिना बागलुङको प्रमुख जिल्ला अधिकारी हुँदा विवादरहित तवरले काम गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्