४ जेष्ठ २०८१, शुक्रबार

 

उद्योग वाणिज्य महासंघको बैठक बागलुङको ढोरपाटन सिकार आरक्षमा हुँदै

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघको तेस्रो बैठक बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा बस्ने भएको छ। नीजि क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले ढोरपाटनको पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले तेस्रो कार्यकारीणीको बैठक ढोरपाटनमा गर्न लागेको हो ।

असोज १५ र १६ गते हुने बैठकको सबै तयारी पूरा भएको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा हुने बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका ७० जनाको कार्यसमिति सदस्यसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहने बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

बैठकका आउने पाहुँनाहरुको खाना तथा आवासका लागि ढोरपाटन उपत्यकामै व्यवस्थापन मिलाइएको कँडेलले बताउनुभयो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वय गर्ने भएको छ ।

एक पटक देशभरका नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको पर्यटन प्रर्बद्धनमा सहयोग पु¥याउनु हुँनेछ भन्ने अपेक्षा राखिएको कँडेलले बताउनु भयो । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक लगानी भित्राउन यो बैठकले सहयोग पु¥याउने छ ।

उद्योगी व्यवसायी ढोरपाटन आउँदा पर्यटकीय क्षेत्रको विकास, लगानीको वातावरण बनाउन, कृषि उपजको बजारीकरणमा कोशे ढुङ्गा सावित हुँने अपेक्षा गरिएको छ । ढोरपाटन आलुको राम्रो उत्पादन छ भने स्याउको प्रचुर संभावना रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित कार्यसमिति सदस्यले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना रहेको छ ।

ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्ने कार्यक्रम रहेको छ। ढोरपाटन सिकार आरक्ष, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटकलाई लोभ्याउने अनेकौ स्थानहरु रहेकोमा तिनीहरुको प्रचार प्रसार हुँने गरी बैठकको आयोजना गरिएको छ ।

सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटकहरु आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको वृद्धि भएको छ तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्