१५ बैशाख २०८१, शनिबार

 

दीपावलीको अवसरमा बागलुङमा ‘चङ्गा चैट’ प्रतियोगिता

बागलुङ । रोट्रयाक्ट क्लव अफ बागलुङको आयोजनामा चङ्गा प्रतियोगिता हुने भएको छ । दशैँ र दीपावलीको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कृति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा चैट प्रतियोगिता गर्न लागिएको हो ।

बागलुङ नगरपालिका २ धौलागिरि बहुमुखी क्याम्पसमा आगामी कात्तिक १८ गते विहान ११ : ३० बजेदेखि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको ‘चङ्गा चैट’ प्रतियोगिताका मुख्य संयोजक सौरभ केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो। उक्त प्रतियोगितामा भाग लिनको लागि रजिष्ट्रेशन गर्ने अन्तिम मिति कार्तिक १८ गते र दर्ता शुल्क ५ सय रुपैया रहेको छ ।

चङ्गा प्रतियोगितामा विजयी हुनेलाई ५ हजार ५ सय ५५ रुपैयाँ, गिफट हेम्पर र प्रमाणपत्र दिने र सहभागीहरुमध्येबाट तीन जनालाई लक्की ड्रबाट गिफट भौचर दिने कार्यक्रम रहेको रोट्रयाक्ट क्लव अफ बागलुङकी अध्यक्ष सुस्मिता केसीले बताइन् । चङ्गा उडाउने संस्कृतिको संरक्षण, युवा पुस्तामा यसको महत्व बुझाउन र यसबाट पर्यटन प्रवद्र्धन गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

विगत एकदशक अगाडिसम्म दशैँ तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रुपमा चङ्गा उडाउने परम्परा थियो । पहिला चङ्गा उडाएको र लढाएको हेर्न टाढा टाढाबाट मानिसहरु हेर्न आउने चलन थियो ।

पछिल्लो समय स्थान अभाव, सामाजिक सञ्जाल र सूचना प्रविधिको बढ्दो प्रभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण चङ्गा उडाउने परम्परा लोप हुन थालेको छ ।लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले रोट्रयाक्ट क्लव अफ बागलुङका युवाहरुले यो वर्षदेखि प्रतियोगिता आयोजना गरेको मुख्य संयोजक केसीले जानकारी दिनु भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्