बागलुङ । बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउनु भएको छ ।
शुक्रबार मेयर श्रेष्ठले पूर्वप्रधानमन्त्री देउवालाई बागलुङ नगरपालिकामा स्वागत गर्नु हुँदै बागलुङ नगरपालिकाको लागि जग्गा व्यवस्थापन र अन्य सरोकारको विषयमा ध्यानाकर्षण गराउनु भएको हो । बागलुङ नगरपालिकाले दिने प्रशासनिक र विकास निर्माणको सेवा एउटै ठाउँबाट दिनको लागि सुविधा सम्पन्न भवनको अभाव हुँदा सेवाग्राही र सेवा प्रवाह गर्ने जनप्रतिनिधि, कर्मचारीलाई गाह्रो भएको विषयमा मेयर श्रेष्ठले देउवालाई जानकारी गराउनु भएको हो ।

मेयर श्रेष्ठले बागलुङ नगरपालिकाले सुरु गरेको जनसहभागिता मुलक दिगो विकास कार्यक्रम, प्रशासनिक सुधार, प्रत्येक वडासम्म पिच बाटो पुर्याउने र नगरका गौरवको आयोजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसको साथै खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सिंचाई, संचार, पशुपालन, वन, सडकलगाएतको क्षेत्र भएको लगानीले नगरवासीको जिवनमा आएको आर्थिक तथा सामाजिक परिर्वतन बारेमा समेत बताउनु भएको थियो ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले बागलुङ नगरको जग्गा व्यवस्थापन र मेयर बसन्त कुमार श्रेष्ठको नेतृत्वमा हुन लागेको दिगो विकास कार्यक्रमको लागि आफूले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर समस्या हल गर्न र प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नको लागि उपयुक्त वातावरण बनाउन पहल गर्ने बताउनु भयो ।























































































































































































