१५ बैशाख २०८१, शनिबार

 

सर्वसिद्धिधाम पञ्चकोटमा हेलिप्याड निर्माण

बागलुङ । बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोट नजिकै हेलिप्याड निर्माण गरिएको छ। विपतको समयमा आकस्मिक उद्दार गर्न र धार्मिक पर्यटनलाई सहयोग होस भनि बागलुङ नगरपालिका र नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो।

शुक्रबार पश्चिम पृतना हेडक्वाटरका उपरथी दिपक कुमार बानियाँले बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई हेलिप्याड हस्तान्तरण गर्नुभएको हो ।

पश्चिम पृतना हेडक्वाटरको एक आर्थिक वर्ष एक युनिट दुई हेलिप्याड निर्माण कार्यक्रम अन्तर्गत हेलिप्याड निर्माण गरिएको उपरथी बानियाँले जानकारी दिनु भयो ।

बागलुङ नगरपालिकाको तीन लाख र श्रीमेहर गणको जवानहरुको तीन लाख बराबरको श्रमदानमा नागरिकमैत्री हेलिप्याड निर्माण भएको हो । यस हेलिप्याडले ग्रामीण भेकका सर्वसाधारण जनताको तत्काल उद्दार र धार्मिक पर्यटकको लागि उपयोगी हुने बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

बागलुङ नगरपालिकामा सुविधा सम्पन्न हेलिप्याड नभएको बेला यो हेलिप्याडले ठूलो आवश्यकता पूर्ति गर्ने र हेलिप्याड निर्माण गर्न सहयोग गर्ने नेपाली सेना, वडा कार्यालय, वडावासी र प्राविधिक कर्मचारी सबैलाई धन्यवाद दिनु चाहान्छु मेयर श्रेष्ठले भन्नु भयो ।

बागलुङ नगरपालिका भित्र नागरिकमैत्री हेलिप्याड नहुँदा धौलागिरि बहुमुखी क्याम्पसको जग्गामा हेलिकप्टर बस्नुपर्ने बाध्यता रहेको बताउनु भयो।

यस हेलिप्याडले एक वडा एक हेलिप्याड कार्यक्रमलाई समेत सघाउनुको साथै राष्ट्रपति हवाई उद्दार कार्यक्रमलाई समेत सहजता प्रदान गर्ने बागलुङ नगरपालिकाले जनाएको छ ।

विपत् व्यवस्थापन र उद्धारका लागि र जटिल प्रकृतिका प्रसूतिसम्बन्धीका बिरामी र अन्य प्राकृतिक विपत्तिको समयमा यस हेलिप्याडले सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्