१७ बैशाख २०८१, सोमबार

 

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न बैंकको १७ औं वार्षिक साधारण सभाले ६ जना सञ्‍चालक चयन गरेपछि सञ्चालक समितिले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो।

साधारण सभाबाट संस्थापक सेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने छन्।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७९र०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको थियो।

बैंकले आर्थिक वर्ष २०७९ र ८० मा सञ्‍चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपश्‍चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

बैंक देशको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्