८ जेष्ठ २०८१, मंगलवार

 

दुर्गा प्रसाईमाथि चप्पल प्रहार गर्ने रामकान्त गौतमलाई चार दिन म्याद थप

बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि चप्पल प्रहार गर्ने व्यवसायी रामकान्त गौतमलाई प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा हाजिर गराएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङले चार दिन म्याद थप गरेको छ । गौतमलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिक विरुद्धको कसुरु अन्तर्गत अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई जिम्मेवारी दिएको छ ।

यो कसुर ठहर भएमा एक वर्षसम्म कैद वा दश हजारसम्म जरिवान वा दुवै हुने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नयाँ विश्वलाई जानकारी दिनु भयो । गौतमलाई प्रहरीले बढीमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

बिहीबार लोकतान्तिक चोकमा प्रसाई मंचमा उक्लन लागेको बेला गौतमले चप्पल प्रहार गर्न खोज्दा प्रसाईका सुरक्षा गार्डले रोकेर थियो । गौतमलाई प्रसाईका समर्थकले निर्घाट कुटपिट गरेका थिए ।

रामकान्त गौतमले बागलुङ नगरपालिका -२, धौलागिरि चोकमा लामो समयदेखि जुत्ता व्यवसाय गर्दै आएका छन् । उनको जन्म घर बागलुङ नगरपालिका वडा नं – ७ वाटुले गाउँ हो ।

गौतमलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएकोले ठूलो दुर्घटना हुन पाएन । राष्ट्र, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, बागलुङले लोकतान्त्रिक चोकमा सभा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्