१५ बैशाख २०८१, शनिबार

 

बडिगाडका स्वास्थ्य शाखा प्रमुख केसीलाई कालोमोसो दल्ने गुरुङ पक्राउ

बागलुङ । बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई कालोमोसो दल्ने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी पार्टीका जिल्ला संयोजक पूर्ण बहादुर गुरुङ  ‘प्रविण’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुरुङलाई ताराखोला गाउँपालिका-१ भुस्कातबाट हिजो साँझ ६ बजे प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकार एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

गत माघ ७ गते घरबाट मोटरसाईकलमा कार्यालय तर्फ जाने क्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जिल्ला कमिटी बागलुङका संयोजक गुरुङ नेतृत्वको टोलिले स्वास्थ्य शाखा प्रमुख केसीलाई कालो मोसो दलेको थियो।

म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाही स्वरूप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवी र जिल्ला संयोजक प्रविणले हस्ताक्षर गरको वक्तव्यमा उल्लेख थियो ।

गुरुङलाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय बागलुङमा हाजिर गराएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालका अनुसार गुरुङलाई पाँच दिन म्याद थप गरेको छ ।उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्ध (अभद्र व्यवहार) को कसूरमा मुद्धा चलाइएको छ ।

यो कसुर ठहर भएमा एक वर्षसम्म कैद वा दश हजारसम्म जरिवान वा दुवै हुने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

गुरुङलाई प्रहरीले बढीमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्