२७ बैशाख २०८१, बिहीबार

 

बागलुङ बजारमा दिउँसै चोरी, सिसी क्यामरा नहुँदा प्रहरीलाई चोर पक्रन सकस

बागलुङ । गत बिहीबार बागलुङ नगरपालिका – २ हल्लन चोकको दुई वटा घरमा दिउँसै चोरी भएको छ । उक्त स्थानमा सिसी क्यामरा नहुँदा चोरको गतिविधि सिसी क्यामरामा कैद हुन पाएन ।

सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई पहिला सहज भएको थियो । बजारको कतिपय ठाउँमा राखिएको सिसी क्यामेरा बिग्रेकाले र कतिपय ठाउँमा सिसी क्यामरा नहुँदा बजार क्षेत्रका पसल चोरी हुने र आपराधिक घटना बढ्दै गएको पाइएको छ ।

हल्लन चोकस्थित व्यवसायी तेज प्रसाद शर्माको पसलको तेस्रो तलाबाट चोरले ६० लाल सुन र १५ तोला चाँदीको गहना चोरेको थियो ।

यसै गरि व्यवसायी उमेश गौतमको कोठाबाट डेढ तोला सुन, ४ तोलाको पाउजु र ५ वटा चाँदीको सिक्का दिउँसो २ बजेर ३० मिनेट जादा चोरी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

घटनामा सङ्लग्न व्यक्ति चोरी भएको तेस्रो दिन बित्न लाग्दा पनि पक्राउ पर्न सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

बजारको मुख्य मुख्य चोकमा समेत सिसी क्यामरा नहुँदा बजारमा सुरक्षा चुनौती बढेको छ ।  बजारमा चोरी डकैतीका घटना नियन्त्रणका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या भएको हो ।

अपराध निरन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतलेसमेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ ।

दश वर्षअघि जडान गरिएका सिसी क्यामेराका कारण केही वर्षसम्म बागलुङ बजार क्षेत्रमा खुला मापसे गरेर हिँड्ने, झगडा गर्ने, पाकेट मार्ने तथा रातिको समयमा बजार क्षेत्रका पसल फुटाएर चोरी हुनेजस्ता आपराधिक कार्यमा कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्