२२ बैशाख २०८१, शनिबार

 

बागलुङ नगरमा दादुरा-रुबेलाविरुद्धको खोप अभियान फागुन १३ देखि

बागलुङ । बागलुङ नगरपालिकाले फागुनको १३ देखि १६ गते सम्म दादुरा र रुवेला विरुद्ध खोप लगाउने भएको छ ।

निवारण भैसकेको दादुराको प्रकोप विभिन्न स्थानमा देखिएपछि पुनः खोप लगाउने कार्यक्रम जोड्नु परेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

विशेषगरी जन्मेको ९ महिना पुग्दा लगाउने दादुरा खोपको कारण बालबालिकामा निवारण गर्न सकिनेमा विभिन्न कारणले आउने समस्याबाट दादुरा र रुवेला रोग देखिएको र तराइ लगायत गण्डकी प्रदेशका पनि केही जिल्लामा यो रोगको संक्रमण देखिएपछि पुनः खोप अभियान संचालन गर्नु परेको सिनियर अहेव अधिकृत तथा खोप ईन्चार्ज डिल्ली प्रसाद आचार्यले नयाँ विश्वलाई बताउनु भयो ।

नेपाल सरकारले आगामी २०२६ सम्ममा दादुरा रुवेला निवारणको लक्ष्य राखेको छ । त्यसका लागि कम्तिमा ९५ प्रतिशतमा खोप सेवा पुगेको, रोगको संख्या नभएको देखिनुपर्ने नीतिगत व्यवस्था छ ।

एक जनामा संक्रमण भएमा १८ जना सम्ममा सर्ने खतरा भएकोले खोप अनिवार्य लगाउने अभियानका लागि नगरपालिकाले जनप्रतिनिधि, वडा तहका कर्मचारी, स्वास्थ्यकर्मी समेत परिचालन गरेर कोहीपनि नछुट्ने अवस्था सिर्जना गर्न लागिएको नगर उपप्रमुख राजु खड्काले बताए ।

‘रोकथाम भैसकेको रोगको संक्रमण पुन देखिएकोले सचेत भएर कोही नछुट्ने अभियान चलाउनु परेको हो’ उनले भने, ‘खोपको उचित सदुपयोग र प्रभावकारी रुपमा खोप लगाउने व्यवस्थापन गर्नु पर्छ ।’ यो खोप नियमित दुइ डोज लगाउनुपर्ने प्रोटोकल छ ।

विद्यालयमा लगाउने कार्यक्रम नभइ वडाको खोप केन्द्रमा मात्रै लगाइने भएकोले कतिपय स्थानमा बस्ने अभिभावकले थाहा नपाउने अवस्था हुने हुँदा प्रचारप्रसार बढी चाहिने भएको खनालको भनाइ छ । साथै खोपको कार्ड व्यवस्थापन गर्ने, खोपको तथ्यांक उचित ढंगले राख्ने काम समेत गरिने बताइएको छ ।

दादुराको समस्या बल्झन नदिन सबैको सक्रिय सहभागिता चाहिने भन्दै नगरपालिकाले एक दिने अभिमुखीकरण कार्यक्रम समेत गरेर सबै स्वास्थ्यकर्मीलाई सक्रिय बनाइएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, स्वास्थ्य शाखाका लक्ष्मण शर्मा र नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले खोपको अवस्था र बागलुङको बालबालिकाको स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि समेत सहभागि थिए ।

 

प्रतिक्रिया दिनुहोस्