३ जेष्ठ २०८१, बिहीबार

 

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ ।कांग्रेस उपसभापति धनराज गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनु भयो ।

उपसभापति गुरुङले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौँ । विश्वासको मत दिएका थियौँ । आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा नयाँ सरकार बनाएपछि नेपाली कांग्रेसको उक्त निर्णय आएको हो । प्रचण्डको नेतृत्वमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ । नयाँ सत्ता गठबन्धन बनेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

‘०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचन मार्फत मतदाताले दिएको म्याण्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर त्यो म्याण्डेडलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन ।

संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिक पंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ ।

कार्यसम्पादन समितिको यो बैठक यो घटनालाई गम्भीर ढंगले लिंदै संसदमा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गर्दछ,’ बैठकले गरेको निर्णयमा भनिएको छ ।

यस्तै कांग्रेसले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

२०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचन हुँदैछ । उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

उप–निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।

तस्बिर : कविन अधिकारी, गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्