१५ बैशाख २०८१, शनिबार

 

धौलागिरि गण्डकी यातायातद्वारा बागलुङ पोखरा रुटमा विद्युतिय माइक्रो बस सेवा सुरु

बागलुङ । बागलुङदेखि पोखरासम्म विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा आएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्रालिले आइतबारबाट माइक्रो बस सञ्चालन गरेको हो ।

सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न नेपालमा ल्याइएको गाडी अन्य जिल्लामा सफल परीक्षण भएकोले बागलुङबाट पनि सञ्चालन गरिएको हो ।

बस बागलुङ नगरपालिका-४ उपल्लाचौर देखि श्रीनगर टोल हुँदै बजारको मुख्य सडकबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटसम्म पुग्ने छ । हरेक दिन विहान ६ बजे, ८ः३० बजे, ११ः३० बजे र ४ बजे छुट्ने छ भने पोखरादेखि पनि बागलुङको लागि सोही समयमा छुट्ने छ ।

विद्युतिय बस निर्धारित समयमै छुट्ने र २ घण्टामा पुखरा पुग्ने धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताउनु भयो । पहिलो चरणमा बागलुङबाट पोखरा संचालन गर्न एक करोड १० लाख रुपैयाँ लागतमा सेवा सञ्चालन गरिएको प्रालिका अध्यक्ष केसीले बताउनु भयो ।

क्रमस बागलुङबाट काठमाण्डौ, नारायणगढ लगाएतका शहरहरुमा समेत संचालन गर्ने योजना बनाएको प्रालिका अध्यक्ष केसीले जानकारी दिनुु भयो । विद्युतीय माइक्रो बस सेवाको सुभारम्भ गर्दे बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले विद्युतीय साधनको ध्वनि तथा वातावरण प्रदुषण रहित रहेकोले समयानुकुल इलेक्ट्रिक बस सेवा प्रभावकारी बन्ने बताउनु भयो ।

नगर प्रमुख श्रेष्ठले यात्रुलाई राम्रो व्यवहार गरि सहज रुपमा यात्राको वातावरण मिलाउन आग्रह गर्नु भयो । अरू गाडीमाभन्दा भाडा सस्तो हुने गरी प्रालिले पहिलो पटक बागलुङ पोखरा रुटमा सार्वजनिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

यो रूटमा दुई घण्टामा गन्तव्यमा पुगिने र भाडा प्रति यात्रु ४५० रुपैयाँ तोकिएको छ । सीसीटीभी जडित गाडीमा यात्रुले वाईफाई, क्यूआरबाट भुक्तानी लगायतका सुविधा पाउनेछन् ।

सञ्चालनमा आएका माइक्रो बसहरू सरकारको नीति तथा अवधारणा अनुसार पुराना डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधि अन्तर्गत पर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्