१५ बैशाख २०८१, शनिबार

 

अफिम खेती गरेर चोप संकलन गर्ने हिमाल लामा पक्राउ

बागलुङ । प्रहरीले अफिम खेती गरेर चोप संकलन गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–३ मा अफिम खेती गरेर चोप संकलन गरेको आरोपमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर–८ घर भएका २६ वर्षीय हिमाल लामा थिङलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टिमले अफिम खेती गरेर चोप संकलन गर्ने गरेको सुराकको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । करिब ३ रोपनी जग्गामा उनले अफिम खेती गरेका खड्काले बताए ।

थिङले संकलन गरेको १०७ दशमलव ४ ग्राम अफिमको चोप बरामद गरिएको छ । मध्यनेपाल नगरपालिका–३ सुर्यपालस्थित लामाचौरमा विष्णु सुवेदीको जग्गामा विगत एक वर्षदेखि उनले अफिम खेती गरेको र प्रहरीले १४ हजार ५६६ बोट अफिमको बोट पनि बरामद गरेको छ ।

पक्राउ परेका थिङविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले नयाँ विश्वलाई बताए ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्