२० बैशाख २०८१, बिहीबार

 

मध्यपहाडी लोकमार्गको दुर्घटना जोखिम क्षेत्रमा राखियो ट्राफिक सचेतना बोर्ड

गलकोट, गलकोट नगरपालिका, ईलाका प्रहरी कार्यालय गलकोट र अस्थायी ट्राफिक पोष्ट हटियाको समन्वयमा मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोग र ईलाका प्रहरी कार्यालय गलकोटको सक्रियातामा मध्यपहाडी लोकमार्ग स्थित गलकोट नगरपालिका ११ रिघा फेदी देखि गलकोट नगरपालिका १ दुदिलाभाटी भ्यूटावर सम्मका रोडका विभिन्न स्थानमा सो बोर्डहरु राखिएको हो ।

बजार क्षेत्रमा हर्न नबजाउँ, ट्राफिक नियम पालना गरौं, सडक लेनको प्रयोग गरौं, तिव्र गति जिवनको क्षति, छिटो गए भन्न सकिन्न विस्तारै गए अवश्य पुगिन्छ , सुन्दर जिन्दगीमा हतार दिन भन्ने सचेतना मुलक सन्देश लेखेका बोर्डहरु मध्यपहाडी लोकमार्गका विभिन्न २५ स्थानमा राखिएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

सडक दुर्घटना न्युनिकरण अभियान अन्तर्गत सो बोर्डहरु राखिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

‘सडक दुर्घटना न्युनिकरणका लागि हामीहरुले पालिका भित्रको मध्यपहाडी लोकमार्ग खण्डमा विभिन्न अभियानहरु सञ्चालन गरेका छौं सो अन्तर्गत यो सचेतना बोर्डहरु राख्न सुरु गरेका छौं गैरेले भन्नुभयो ।

शनिबार गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले लोकतान्त्रिक चोकमा ट्राफिक सचेतना बोर्ड स्थापना गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख थम्मनसिंह रानाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम प्रहरी चौकी हटियाका प्रमुख विष्णु प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्