४ असार २०८१, सोमबार

 

युवा श्रम बेचेर वस्तु आयात गर्दैमा देश विकसित बन्न सक्दैन : पूर्व प्रधानमन्त्री भट्टराई

बागलुङ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक दलको शक्ति संघर्षको कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनु भएको छ ।

बागलुङ उद्योग वाणिज्य संघले शुक्रबार बागलुङमा आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अवको यात्रा विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताउनु भएको हो ।

पूर्वअर्थमन्त्री समेत रहनु भएका भट्टराईले श्रम बेची वस्तु आयात गरेर नेपाल समृद्ध बन्न नसक्ने भन्दै नेपाललाई कृषि प्रधान देशबाट कृषि औद्योगिक प्रधान देशमा रूपान्तरण गर्न आवश्यक रहेको उहाको भनाई छ ।

देशको ऊर्वर जनशक्ति विदेसिनाले नेपालको उद्योग कलकारखानालार्य जनशक्तिको अभाव भएकोले युवा जनशक्तिलाई नेपालमानै वस्ने वातावरण बनानुपर्ने भट्टराईले तर्क छ ।

कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकी मुलुकहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मात्र मुलुकमा छिटो विकास र समृद्धि आउने धारण राख्नु भयो।

नेपाल स्रोत र साधनले भरिपूर्ण भएर पनि नयाँ सोच र योजनाका साथ अगाडि बढ्न नसेकोले पुरानो सोच परिवर्तन गरि अगाढी वढ्नु विकल्प नरहेको बताउनु भयो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका भट्टराईले राष्ट्रिय पुँजी निर्माणका लागि सरकार र नीजि क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको भन्दै उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पुँजीको निर्माण गर्न सकिने भट्टराईको भनाई छ ।

राष्ट्रिय औद्योगिक पुँजीमा जोड दिएर मात्रै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले सोही अनुसारको योजना बनाउन सरकारलाई आग्रह गर्नु भयो ।

भट्टराईले अब आउने बजेटमा अंक मात्र बढेर आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउन नसक्ने भन्दै बजेट परम्परगत भन्दापनि देशको बदलिदो अवस्था हेरी ल्याउनुपर्ने बताउनु भयो ।

आफैले २०४५ सालमा परिकल्पना गरेको मध्ये पहाडी राजमार्गले समृद्धिको ढोका खोलिसकेको भन्दै राजमार्गको पुर्णता पाउनुपर्ने बताउनु भयो ।

२१ औँ शताब्दीमा आइपुग्दा भारत र चीन ठूलो शक्तिको रुपमा उदय भैसकेको सन्दर्भमा ठूला शक्तिशाली दुई देश बिचको शान्तिको केन्द्र बन्न सक्ने अवसर नेपाललाई रहेको बताउनु भयो ।

त्यसका लागि नेपालले द्वन्द्वको केन्द्र बन्ने खतराबाट बचेर बुद्ध जन्मेको देश भन्ने शान्तिको बिम्ब अनुसार शान्तिको नीति लिने हो र सन्तुलित सम्बन्ध बनाएर जाने हो भने नेपाल शान्तिको केन्द्र बन्ने तर्क गर्नु भयो ।

सो अवसरमा राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, उप प्रध्यापक, बैंकर्स, उद्योगी व्यवसायी, पत्रकार लगाएतले डा बाबुराम भट्टराईसँग अन्तर सम्वाद गरेका थिए ।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्