२ कार्तिक २०८३, आईतवार

 

नेपाल उद्योग व्यापार महासंघ कालिकोटको अध्यक्षमा पाण्डे

कालिकोट । नेपाल उद्योग व्यापार महासंघ कालिकोटको प्रथम भेलाले भानु प्रसाद पाण्डेकोको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । बुधबार कालिकोटको मान्मामा विभिन्न क्षेत्रका व्यवसायीहरूको भेलाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा दल बहादुर साउद, वाणिज्य उपाध्यक्षमा प्रेम टमटा, महासचिवमा टेकराज काफ्ले, कोषाध्यक्षमा तारा गिरी चयन भएका छन ।

कार्यक्रममा पूर्व मन्त्री तथा माओवादी केन्द्रका उत्पादन विभाग इन्चार्ज तथा कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेतले अब साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न सबै क्षेत्र लाग्नु पर्ने बताए । बस्नेतले मुलकलाई समृद्धिको बाटोमा लिन औद्योगिकरण र नेपाली उत्पादनको निर्यात वस्तुको रहेको बताए ।

कार्यक्रममा लघु ओद्योगिक ग्राम सुर्खेतका अध्यक्ष तथा महासंघका प्रदेश इन्चार्ज उदिराम डाँगीले साना उद्योग नभई ठुला उद्योग बन्न नसक्ने भन्दै सबै तहका मानिसहरू मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, “एकातिर बेरोजागारी बढ्दै छ भने अर्कातिर व्यवसायहरू राम्रोसँग चल्न सकेका छैनन्, यसकारण हाम्रा साना तथा मझौला उद्योगहरूलाई विभिन्न तरिकाले प्रोत्साहन तथा सहयोग गरी राष्ट्रिय अर्थतन्त्र समृद्ध बनाउनका लागि उपयोग गर्नु जरुरी छ ।”

त्यस्तै कार्यक्रममा व्यापार महासंघका केन्द्रीय सचिव तथा कर्णाली अध्यक्ष सूर्य विक्रम थापाले देशमा आर्थिक उदारीकरणको सुरुवातसँगै आर्थिक विकासमा साना तथा मझौला व्यवसायहरू प्रवर्द्धन गर्नु आवश्यक रहेको बताए ।

विभिन्न १७ वटा संघ मिलेर बनेको महासंघले कर्णाली प्रदेशका विभिन्न जिल्लामा संगठन बिस्तार गरिरहेको छ । महासंघका साधारण सदस्य नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung