बागलुङ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित बागलुङ बसपार्कको उद्घाटन गर्नुभएको छ ।
बागलुङ नगरपालिका-४ उपल्लाचौरको दाबगरामा तीन वर्षअघि निर्माण सम्पन्न भएको उक्त सुविधासम्पन्न बसपार्कको मुख्यमन्त्री पाण्डेले मंगलबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले बसपार्कको सञ्चालनले बागलुङको आर्थिक बजारलाई चलायमान बनाउने सहयोग गर्ने र बागलुङको विकासको लागि प्रदेश सरकारले सबै खालको सहयोग गर्न तयार रहेको बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले सबै जग्गादाता र अन्टार्टिकामा पुग्ने पहिलो नेपाली बागलुङ नगरपालिकाका भुवनसिंह विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
२३ वर्षपछि बागलुङवासीको सपना पुरा भएको भन्दै खुसीयालीमा स्थानीयहरूले विभिन्न झाँकी र नृत्य प्रदर्शन समेत गरेका छन् ।
बागलुङ नगरपालिकाले निर्माण गरेको उक्त बसपार्क बनाउन निःशुल्क रूपमा जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सहमति अनुसार फिर्ता गर्न र अन्य पूर्वाधारको निर्माणमा ढिलाइ भएका कारण बसपार्क सञ्चालनमा समय लागेको हो ।
२०५८ सालमा बसपार्क निर्माणका लागि यहाँका ३५ घरपरिवारले ५२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । बसपार्क निर्माणपछि पचास प्रतिशत जग्गा घडेरीका रूपमा पुन फिर्ता गर्नुपर्ने जग्गाधनीहरूसँग नगरपालिकाले सम्झौता गरिएको थियो ।

बसपार्क सञ्चालनमा आएसँगै २३ वर्ष देखिको बागलुङवासीको सपना पूरा भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले जग्गादाताहरूलाई जग्गा फिर्ताको प्रक्रिया अगाडी बढाउनुका साथै बसपार्कको पहुँचमार्ग विस्तार गरेर बसपार्क सञ्चालनमा ल्याइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
बसपार्कमा सुविधा सम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।
बसपार्क बनाउन नगरपालिकाले नगर विकास कोषबाट करिब ९ करोड ऋण प्राप्त गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो ।
जग्गा फिर्ता गर्न नक्सा तयार भइसकेको उहाँले बताउनुभयो । बसपार्क सञ्चालनमा आएसँगै उपल्लाचौरमा चहलपहल बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बसपार्कको अहिलेसम्मको प्रगतिको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी, अन्टार्टिकामा पुग्ने पहिलो नेपाली बागलुङ नगरपालिकाका भुवनसिंह विश्वकर्मा र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख राजु खड्काको धन्यवाद र नगरपालिकाका कर्मचारी सुदिप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































