बागलुङ। बागलुङ बसपार्क नियमित संचालनमा आएको छ । बागलुङ नगरपालिका ४ उपल्लाचौरको दाबगरामा निर्माण गरिएको बसपार्कमा पहिलोपटक धौलागिरी गण्डकी यातायात सेवा प्रालिले सेवा सुरु गरेको हो ।
गत सोमबार साँझदेखि बागलुङबाट काठमाडौंसम्म र बागलुङदेखि वीरगन्जसम्म ४६ सिटे वातानुकलित बसहरु चल्न थालेका हुन् ।
बागलुङ नगरपालिकासँग सम्झौतापछि प्रालिले दैनिक ३ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिका अध्यक्ष उमेश केसीले बताउनु भयो ।
गत भदौ २४ गते धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष केसी र बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलबीच बसपार्क एक वर्षका लागि चलाउन रु १२ लाख ४३ हजारमा सम्झौता भएको थियो ।
बागलुङ नगरपालिका–४ स्थित दाबगराको बागलुङ बसपार्क र बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको गरेर एकमुष्ट सम्झौता गरिएको छ हो ।
बसपार्कबाट आंशिक रुपमा बस चलिरहेको र काउन्टर खोल्ने क्रम जारी भइरहेको बेला गत भदौ २४ गते बागलुङ नगरपालिका र यातायात व्यवसायीबीच सम्झौता गरेर बस राख्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
अहिले बसपार्कबाट दैनिक लामो दुरीको तीन वटा बस र छोटा दुरीका तीन वटा बस चलिरहेको प्रालिका अध्यक्ष केसीले बताउनुभयो ।
तीनरचार दिनपछि पोखराको लागि बस सञ्चालनमा आउने र त्यसको व्यवस्थापनको लागि काम अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।अहिले बजार मूल्य अनुसार रू। पचास करोडभन्दा बढी मूल्य पर्ने १७ रोपनी जग्गा विसं २०६० सालमा जग्गा व्यवस्थापन समितिले बसपार्क बनाउन बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको थियो ।
जग्गा व्यवस्थापन भएको २३ वर्षपछि निर्माण भएको आधुनिक बसपार्कमा दिगो रुपमा नियमित बस सञ्चालनको लागि बस व्यवसायी समितिसँग सम्झौता गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
यातायात सेवालाई व्यवस्थित गर्न हामीले नगरपालिका, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुसँगको सहकार्यमा बस चलाउन थालेको उहाँको भनाइ छ ।
बसपार्कबाट बस, मिनि बस र माइक्रो बस निरन्तर रुपमा सञ्चालन गर्न यातायात प्रालिले प्रक्रिया अगाडि बढाएको छ ।
नगरपालिका र यातायात व्यवसायीबीच सटर, शौचालय, टहरा तथा काउन्टरको न्यूनतम भाडादर कायम गरी एकमुष्ट सम्झौता गरिएको छ ।
विसं २०५८ सालमा नगरपालिकालाई दिएको जग्गामा बसपार्क बनेको छ भने घडेरी फिर्ताको काम बाँकी नै रहेको छ ।
पहुँचमार्ग विस्तारपछि बागलुङ बसपार्क सञ्चालनका लागि भदौ १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
बसपार्कमा ७० बस, एक सय कार एकैपटक पार्किङ गर्न सक्ने सुविधा रहेको छ । बसपार्कमा २० वटा व्यापारिक सटर समेत रहेका छन् ।
बसपार्कमा सुविधा सम्पन्न टिकटकक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ

तस्बिर : दिनेश जिसी













































































































































































































