१९ जेष्ठ २०८३, मंगलवार

 

ग्लोबल आइएमई बैंकको नाफा २३ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब २२ करोड

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा डेढ अर्ब नाघेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशत बढेको छ।

कम्पनीको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेसँगै सञ्चालन मुनाफा १९.४० प्रतिशत बढेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ।

असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।

असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.२३ प्रतिशत र कर्जा तथा सापटी ७.५५ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung