१५ कार्तिक २०८३, शनिबार

 

नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा र तारानाथ आचार्यको उम्मेदवारी

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्वाचनमा पत्रकार राम थापा ‘अविरल’ र तारानाथ आचार्यले उम्मेदवारी दिनुभएको छ ।

प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलका तर्फबाट थापा र प्रेस चौतारी र प्रेस युनियनको संयक्त प्यालनबाट आचार्यले बुधवार उम्मेदवारी दर्ता गराउनुभएको हो ।

विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील थापाले यसअघि दुईपटकसम्म महासंघ बागलुङ शाखाको पदाधिकारी र सदस्यमा रही कार्य गर्नुभएको थियो ।

पाँचौँ शाखा अधिवेशनबाट निर्वाचित अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको कार्यकालमा कार्यसमिति सदस्य रहनुभएका उहाँसँग छैठौँ अधिवेशनमा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बनेको सहमतिको कार्यसमितिमा सचिव पदमा रही कार्य गरेको अनुभव छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको उपाध्यक्षसमेत रहनुभएका थापा हाल राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध हुनुहुन्छ ।

उहाँले यसअघि बागलुङ एफएम, सन्तुलित साप्ताहिक, नयाँ विश्व अनलाइनलगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

विद्यामन्दिर पुस्तकालयका अध्यक्षसमेत रहनुभएका थापा धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङको सचिव तथा समाजवादी अध्ययन केन्द्रको सदस्यसमेत रहनुभएको छ ।

पत्रकारितासँगै कला, साहित्यमा गहिरो रुची राख्ने थापाका गीत, कवितालगायत फुटकर रचना प्रकाशित छन् ।

अध्यक्षका अर्का प्रत्यासी आचार्यसँग यसअघि पत्रकार महासंघ पर्वत शाखामा सदस्य र बागलुङ शाखामा सहसचिव भएर काम गरेको अनुभव छ । प्रेस चौतारीका केन्द्रीय सदस्य तथा बागलुङ इञ्चार्ज रहनुभएका आचार्य ढोरपाटन दैनिक र राससमा आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung